काठमाडौं । चुनावी नतिजा अन्योलपूर्णं देखिएका बेला बाह्य चासो बढेको देखिएको छ । विशेषतः भारतीय पक्षले चुनावी नतिजालाई हेरेर नेपाल रणनीति बनाउने तयारी थालेको छ ।
चुनावी परिणाम आइरहेका बेला भारतीय राजदूत नविन श्रीवास्तवले नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । श्रीवास्तवले शनिबार मात्रै सत्ता गठबन्धनका नेताहरु प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । श्रीवास्तवले देउवालाई उनकै सरकारी निवास बालुवाटार र प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए ।
देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीले बताएअनुसार श्रीवास्तव र देउवाबीच ‘वान टु वान’ संवाद भएको थियो । तर, वान टु वान संवाद के विषयमा भएको थियो भन्नेबारे भने उनले खुलाएका छैनन् ।
“उहाँहरुबीचमा वान टु वान वार्ता भएको हो । के विषयमा कुराकानी भयो भन्ने जानकारी छैन”, सुवेदीले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन् । बताइएअनुसार दुईबीचको संवाद सम्भावित सरकार गठनको विषयमा भएको थियो ।
श्रीवास्तवले शनिबार नै प्रचण्डलाई उनकै निवास खुलमटारमा पुगेर भेटेका थिए । श्रीवास्तवले प्रचण्डलाई भेटेको विषय उनको सचिवालयले स्वीकार गरेको छ तर, के विषयमा छलफल भयो भन्ने खुलाएको छैन ।
देउवा–प्रचण्डबीचको छलफल पछि श्रीवास्तको इन्ट्री
श्रीवास्तवसँगको भेटवार्ता अघि देउवा र प्रचण्डबीच बालुवाटारमा चुनावी परिणाम र आगामी सरकारबारे छलफल भएको थियो । शनिबार बिहान चलेको भेटवार्ता पछि नै श्रीवास्तवसँग दुई नेताको बेग्ला–बेग्लै भेटवार्ता भएको हो ।
देउवा र प्रचण्डबीच टेलिफोन संवादपछि शनिबार भेटवार्ता भएको थियो । देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार गठबन्धनलाई कायमै राखेर जानुपर्ने विषयमा छलफल भएको थियो ।
“निर्वाचनको सामान्य समीक्षा भयो, गठबन्धनलाई कायमै राखेर सरकार गठन गर्ने सम्भावनाबारे छलफल भएको छ”, परियारले छलफलबारे सञ्चारमाध्यमलाई भनेका छन्, “गठबन्धनको बैठक बोलाउने र बाँकी छलफल गर्ने सहमति भएको छ ।”
वि.सं.२०७९ मंसिर १० शनिवार २२:३७ मा प्रकाशित




























