काठमाण्डौ । राजनीतिज्ञ तथा पुराना बामपन्थी नेता केशरमणि पोखरेलको शनिवार बिहान निधन भएको छ ।काठमाण्डौको कपनमा बस्दै आएका उनको हृदयघातबाट बिहान ५.३० बजे निधन भएको परीवारले जनाएको छ ।
बिसं १९९५ मा जन्मेका पोखरेलले २०१२ मा कम्युनिष्ट पार्टीको सदस्यता लिई पार्टीमा सक्रिय हुदै केन्द्रीय समितिमा प्रवेश गरेका थिए । २०२५ मा सम्पन्न नेकपाको तेस्रो सम्मेलन लगतै उनी पोलिटब्युरो सदस्य भएका थिए । गुल्मीमा भएको हर्रेबर्रे एक्सनका कमाण्डर भएका उनकै नेतृत्वमा पश्चिमांचलमा बृहद किसान आन्दोलन चलेको थियो ।
संयुक्त जनआन्दोलनका पक्षपाती पोखरेल २०४६ को आन्दोलनका समय संयुक्त बाममोर्चामा केन्द्रीय सदस्य रहेका थिए भने नेकपा माले र माक्र्सवादी एकतापछि बनेको तत्कालीन एमालेमा पोलिटब्युरो सदस्य समेत रहेका थिए । राजनीतिमा आएको उतारचढावसंगै केहि समय कांग्रेसमा गएका उनी पुन फर्केर नेकपा एमालेको केन्द्रीय सल्लाहाकार भएका थिए र पछि नेकपा एसको समेत सल्लाहाकार बनाईएको थियो ।
उनलाई अन्तिम श्रद्धान्जली दिन पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायतका केहि नेताहरु, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराई, उपमहासचिव मुकुन्द आचार्य, सचिवहरु निलकण्ठ तिवारी र भरत गौतम तथा अन्य सामाजिक अभियन्ता एवं आफन्तहरु आर्यघाट पुगेका थिए । उनका श्रीमती बिमला पोखरेल, छोराहरु महेश पोखरेल र बिनोदमणि पोखरेल हुनुहुन्छ भने कान्छा छोरा प्रकाशको केहि अगाडी नै निधन भैसकेको छ ।
उनको निधनपछि पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईले समाजका सक्रिय सल्लाहाकार पोखरेलप्रति भावपुर्ण श्रद्धान्जली अर्पण तथा शोकसंतप्त परीवारजनमा गहिरो समवेदना ब्यक्त गर्दै उनको सम्मानमा औपचारीक श्रद्धान्जली सभा आयोजना गर्ने बताएका छन ।
वि.सं.२०७९ मंसिर २४ शनिवार १३:०१ मा प्रकाशित






























