काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सांसदको सूची टुंग्याएको हो ।
संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ ।कांग्रेसले खसआर्यको पहिलो नम्बर रहेका डा. प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय भएको छ।
आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ, थारुको पहिलो नम्बरमा रहेका योगेन्द्र चौधरी, मुस्लिमको पहिलो नम्बरमा रहेका फरमुल्लाह मन्सुरलाई रोकेर कांग्रेसले महत, निधि र परियारलाई मौका दिएको छ ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीको क्रमअनुसार खस–आर्य महिलाबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला, कान्तिका सेजुवाल र मैना रावल कार्कीलाई सांसद बनाउने छ । सेजुवालले पिछडिएको क्षेत्रबाट समेत प्रतिनिधित्व गर्छिन् ।
आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बाखिम ९लिम्बू०, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ र रेनुका काउचा सांसदमा निर्वाचित हुनेछन् ।
यस्तै मधेसी कोटाबाट पुरुषको १ नम्बरमा नाम रहेका निधि छनोट हुँदा चार जना महिलाले अवसर पाउने भएकी छन् । जसमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल सांसद बन्ने भएकी छन् । दलिततर्फ ५ जनाको प्रतिनिधित्व हुनेछ । यसमा पुरुषतर्फ सहमहामन्त्री परियारलाई सांसद बनाउने निर्णय पार्टीले लिए चार महिला सांसद हुनेछन् ।
दलितबाट महासनाई नेपाली, शान्ति विक, रूपा विक र सीता मिजार सांसदमा निर्वाचित हुने भएकी छन् । मुस्लिमतर्फ कम्तीमा एक जनाको प्रतिनिधित्व गर्दा जावेदा खातुन सांसद बन्नेछिन् । थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेतलाई सांसद बनाउने कांग्रेसले निर्णय गरेको छ ।
वि.सं.२०७९ मंसिर २४ शनिवार १५:३८ मा प्रकाशित






























