काठमाडौं । चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकहरुको खुद तरल सम्पत्ति (एनएलए) घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत एनएलए २३.५३ प्रतिशत छ । गत असारमा बैंकहरुको औसत एनएलए २५.३८ प्रतिशत थियो भने पछिल्लो तीन महिनामा वाणिज्य बैंकहरुको खुद तरल सम्पत्ति १.८५ प्रतिशतले घट्न पुगको हो ।
नेपाल राष्ट्र बैंकले न्यूनतम खुद तरल सम्पत्ति २० प्रतिशतभन्दा माथि हुनुपर्ने व्यवस्था गरेकोमा अधिकांश बैंकहरूको एनएलए सीमाको हाराहारीमै रहेको अवस्था छ । अहिले बैंकहरूले तरलताको समस्या भोगिरहेका छन् । बैंकहरूले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तीमा २० प्रतिशत एनएलए राख्नुपर्ने हुन्छ ।
गत असारको तुलनामा एनआइसी एशिया बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनएलए बढेको छ भने अन्य २४ वटा वाणिज्य बैंकको एनएलए घट्न पुगेको छ । गत असारमा २०.३० प्रतिशत रहेको एनआइसी एशिया बैंकको खुद तरल सम्पत्ति असोजमा बढेर २१.८५ प्रतिशत कायम भएको हो । यस्तै, गत असारमा २८.२४ प्रतिशत रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनएलए असोजमा भने ३७.९८ प्रतिशत पुगेको हो ।
हाल सबैभन्दा कम एनएलए नेपाल बैंकको छ । यस बैंकको एनएलए २०.०६ प्रतिशत छ । ६ वटा वाणिज्य बैंकको खुद तरल सम्पत्ति २१ प्रतिशत, ९ वटाको २२ प्रतिशत, दुईवटाको २३ प्रतिशत, तीनवटा बैंकको २४ प्रतिशत, दुईवटाको २५ प्रतिशत र अन्य दुईवटाको २६ प्रतिशतको हाराहारीमा खुद तरल सम्पत्ति रहेको छ ।
बैंकहरुको खुद तरल सम्पत्ति घटेपछि उनिहरुले वितरण गर्ने लाभांश प्रभावित हुनसक्ने भएको छ । दैनिक कारोबारका लागि बैंकहरुले कायम गर्नुपर्ने न्यूनतम एनएलए कायम गर्दा त्यसले लाभांश वितरणमा प्रभाव पार्ने अनुमान गर्न सकिन्छ । तर, बैंकहरु चालु आवको बाँकी समयमा हुने कारोबारबाट एनएलए थप गर्नसक्ने योजनामा जुटेर अगाडि पनि बढ्न सक्छन् ।
वि.सं.२०७९ मंसिर २७ मंगलवार १२:१५ मा प्रकाशित






























