Logo
१३ माघ २०७९, शुक्रबार
     Fri Jan 27 2023
E-paper
  English Edition
   Unicode
Logo

त्यो शनिबार अनि बर्डहिल फार्मस्टेमा साढे तीन घण्टा



काठमाडौं सहर, धेरैको सपना । यो सहरमा आएर उन्नति र प्रगति गर्ने कतिपयलाई यस्तै–यस्तै रहर हुन्छ भने कतिपयलाई काठमाडौं बाध्यताको अर्को नाम पनि हो ।

देश संघीयतामा गइसकेको अवस्थामा पनि राजधानीमा पाइने जति सबै सुविधा गाउँ–ठाउँमा पुगिनसकेको अवस्थामा उज्जवल भविष्य खोज्दै हिँड्ने मानिसहरुको थुप्रो यहि काठमाडौंमा लाग्नु पर्ने बाध्यता छ । कसैलाई उच्च शिक्षा, कसैलाई रोजगारी त कसैलाई केही गरेर खान्छु भन्दा काठमाडौंले भोकोपेट राख्दैन । यहाँ हरेक मानिसहरुका बाँच्ने आ–आफ्नै कला छन् । जहाँ मानिसहरु गीत गाएर, मागेर वा अन्य स–साना इलम गरेर पनि काठमाडौंमा आफ्नो गुजारा चलाईरहन्छन् ।

काठमाडौंले उकुस–मुकुस बनाउँदै आफ्नो काखमा राखेपनि काठमाडौं सहर छोडेर केही किलोमिटर पाखा पखेरातिर गएर आनन्दको सास फेर्छु भन्नेलाई त्यो वातावरण पनि सहजै मिल्छ ।

ऐक्यबद्धता मासिक पत्रिकाकी सम्पादक मीना शर्मा र म प्रत्येक साताको शनिबार यहि मौका खोजिरहन्छौं । कतिपय अवस्थामा चाहेर पनि त्यस्ता ठाउँमा पुग्न नसकिरहेको अवस्थामा कहिलेकाँही भने स्कुटर स्टार्ट गरेर हिँडिहाल्छौं । मंसिरको दोस्रो साता पनि यस्तै अवसर मिल्यो ।
राजधानीका नाम चलेका पत्रिकामा कार्टुन चित्र बनाउने तथा समय मिल्यो कि त नेपालका सुन्दर कला, संस्कृति, हिमाल पहाड चित्रमा उतारेर नेपालदेखि अमेरिकाका मेरिल्याण्ड लगायतका सहरसम्म पुर्याउने मित्र आरके थापा अचेल भने काठमाडौंबाट झण्डै १३ किलोमिटर पर तारकेश्वर ३ (नुवाकोट जाने बाटो) तीन पिप्ले नजिकै एग्रो टुरिजममा रमाउन थालेका छन् । उनै मित्रको निमन्त्रणामा मंसिरको दोस्रो साता तीन पिप्ले चोकैमा रहेको ‘बर्डहिल फार्मस्टे’ मा पुग्यौं । बालाजुबाट ९ किलोमिटर पर रहेको उक्त बर्डहिल फार्म पुग्दा झण्डै आफ्नै गाउँ अनि पाखा पखेरामा पुगेको मात्र अनुभुति हुँदैन । स्कुल पढ्दा पुस १ गते खाजा (घिउ हालेको भात) खान जंगलमा अमलाको बोटमुनि पुगेको भान भयो ।

आरकेजीको पटक–पटकको निमन्त्रणा मात्र नभएर हाम्रो पनि शनिबार सहर भन्दा केही पर जाने जहाँबाट बेलुका फर्किन सकियोस् भन्ने पूर्व योजना अनुसार हामी त्यहाँ पुगेका थियौं ।

सोहि दिन काठमाडौंमै व्यवसाय गरेर बस्नु भएका सुदूरपश्चिमतिरका दिदीबहिनीहरुको पनि त्यहि पिकनिक रहेछ । बस रिर्जभ गरेर जानु भएका उहाँहरु हामी जानुभन्दा पहिले नै नाच गान रमाइलो गरिरहनु भएको थियो । त्यहाँ पुग्दा स्कुलबाट कतै पिकनिक गएको भान हुन्थ्यो । हामी पनि केहीबरे उहाँहरुसँगै नाच्यौं, पिङ खेल्यौ र रमाइलो गर्यौ ।

कोदो र फापरको रोटिसँगै चिया
आरकेजीले फोनमा भन्नुहुन्थ्यो । ‘हामी युवा अगाडि नबढ्दासम्म देशको आर्थिक समृद्दि हुँदैन भन्ने सोचका साथ एग्रिकल्चर टुरिजम विस्तारका लागि यो कार्य सुरु गरेको हुँ ।’ झण्डै २ वर्षदेखि उहाँले उक्त ठाउँमा ५ रोपनी जग्गा भाडामा लिएर ‘बर्डहिल फार्मस्टे’ संचालन गरिरहनुभएको छ । हामीले अघिल्लो दिननै ३ जना आउने भनेर ढिडो र लोकल कुखुराको मासु बनाउन भनिसकेका थियौं ।

अर्कोदिन शनिबार बिहान घरमा हल्का नास्ता खाएर हिँडेका हामी त्यहाँ पुग्दा साढे ११ बजिसकेको थियो । त्यहाँ हामीले सहरमा चाहेर पनि खान नपाएको अग्र्यानिक फापर र कोदोको पिठोको रोटि, मह अनि चिया नास्ताका रुपमा लियौं । काठमाडौंका मिलमा पिसेको कोदो र फापरको पिठोको परिकार खाइरहेको भएपनि त्यहाँको बनेको परिकारको स्वाद अर्कै थियो । आरकेजी भन्दै हुनुहुन्थ्यो – यो हाम्रै नुवाकोटको उत्पादन हो मिसावट केही छैन ।’ थापाले सम्भव भएसम्म बर्डहिलमा आफ्नै बारीमा उत्पादन भएको तरकारी, आफ्नै खोरमा पालिएको कालिज, कुखुरा, खसी र अन्य अग्र्यानिक खानेकुराले पाहुनाहरुको स्वागत गरिरहेको समेत जानकारी दिनुभयो ।

ट्रि हाउसको आनन्द, लोकल कुखुरा र ढिडो
नास्ता खाइसकेपछि हामी एकछिन त्यहाँ सहभागी दिदीबहिनहीहरुसँग नाँचगान गरेर ट्रि हाउस र शेर्पा कटेज हेर्न पुग्यौं । त्यहाँ तीनवटा रुखको सहरामा तलबाट अन्य टेको दिएर कोठा निकालिएको थियो । चिसो मौसममा १२–१ बजेको तातो घामसँगै ट्रि हाउसमा बस्दाको आनन्द अर्कै थियो । छोटो समयमा लागि गएका हामी त्यहाँ रात बिताउने गरी समय नमिलाएकोमा पछुतो मानिरहेका थियौं ।’ ट्रि हाउसमा केही फोटोहरु खिच्यौ र चित्त बुझायौं । आरकेजी भन्दै हुनुहुन्थ्यो–यो ट्रि हाउसमा बस्नेले छुट्ट आनन्दको अनुभुति गरेको बताउँछन् । यहाँ विशेषत शान्त वातावरणमा लेख, पढ् गरी दिन बिताउन तथा सहरको हो–हल्लाले आजित हनुभएकाहरु पारिवारीक रुपमा आएर बस्दा अत्यन्त आनन्द आएको बताउँछन् ।’

उक्त ट्रि हाउसमा बस्नका लागि (खाजा र बेलुकाको खानासहित) एकजनाको दैनिक २५ सय रुपैयाँ र नजिकै रहेको शेर्पा कटेज (जहाँ सिमेन्ट नभएर माटोले बनेको कोठा) मा बस्न १८ सय रुपैयाँ लाग्छ । साथै साथी भाइ रमाइलो गरेर टेन्टमा पनि बास बस्न सकिन्छ । टेन्टमा एकजनाको १५०० लाग्छ । तर, केहिदिन बस्ने गरी कार्यक्रम बनाएर जानेलाई विशेष छुट रहेको पनि आरकेजीले जानकारी दिनुभयो । यदि तपाई केही घण्टाका लागि खाना खानेगरी जानुहुुन्छ भनेपनि तपाईको चित्त बुझ्ने गरी मिनिमम खर्चमा रमाइलो गर्न सक्नुहुन्छ ।

ट्रिहाउस र शेर्पा कटेजको केही समयको बसाईपछि हामी लोकल कुखुराको मासु, बर्डहिलमै फलाइएको साग र स्थानीय कोदोको पिठोको ढिडो खाएर हामी उहाँहरुसँग विदा भएर हिँड्यो । बाटोमा आउँदा साथीहरुबीच कुराकानी हुँदा साथीले भन्नु भयो– ओ हो, सहरबाट थोरैभित्र पुग्नासाथ यतिधेरै रमाइलो र शान्त वातावरमा रमाउने वातावरण मिल्दोरहेछ । बर्डहिलका संचालक आरकेजी, उहाँकी जीवन संगीनी अप्सरा केसी थापाजी र छोरीहरुको न्यानो आतिथ्यता लिएर फेरि घुम्न आउने बाचाका साथ बर्डहिलबाट बिदा भयौं ।

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले नयाँ बैवाहिक जीवनको सुरु गरेका छन् । श्रीमती सुचित्रा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा पुस १० मा भएको सहमतिअनुसार

राज्य छैन भनेर आत्मदाह सम्मको प्रयास गरेका यो देशको नागरीकलाई "ऊ चाँडै नै यो

अभावमा कलह हुन्छ । अभावमा मानसिक स्थिती कमजोर र नकारात्मक हुन्छ । नकारात्मक कुरा