काठमाडाैं । अघिल्लो वर्षको तुलनामा यस वर्ष विप्रेषण आप्रवाह (रेमिट्यान्स) धेरै भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको वित्तीय विवरणमा रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.४ प्रतिशतले वृद्धि भएको हाे ।
राष्ट्र बैंककाे वित्तिय विवरणका अनुसार चार महिनामा कुल ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेटिम्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो ।
रेमिट्यान्स भित्रिएसँगै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १,९५,१९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.४ प्रतिशतले वृद्धि भई ८७,४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २०.२ प्रतिशतले वृद्धि भई रु.४१७ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.९ प्रतिशतले घटेको थियो ।
वि.सं.२०७९ मंसिर २९ बिहीवार १७:३४ मा प्रकाशित






























