back
CTIZAN AD

अब सरर केबलकारमा चढेर मौलाकालिकाको दर्शन गर्न पाइने

वि.सं.२०७९ पुस ४ सोमवार

762 

shares

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान आगामी तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी ‘मौलाकाली केबलकार प्रालि’ले आगामी फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ ।

गैँडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए । यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालकासहित एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

आइएमइ समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबलकार प्रालिले करिब रु एक अर्ब ५० करोडको लागतमा आयोजना अगाडि बढाएको हो । यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोभिडलगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।

केबलकार आयोजनामा ५१ प्रतिशत शेयर मुख्य लगानीकर्ता आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमइ समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । स्थानीयले कम्तीमा रु ५० हजारदेखि बढीमा रु पाँच लाखसम्म लगानी गर्ने ढकालको भनाइ छ । केबलकारले स्थानीयसहित करिब चार सय व्यक्तिलाई रोजगारी दिने कम्पनीको भनाइ छ ।

मौलाकाली मन्दिर नजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटल, लज पनि निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापक सावदले बताए । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेशन हुने उनले जानकारी दिए । “हेलिप्याड भएको ठाउँमा टपस्टेशन निर्माण गरे पनि हेलिप्याडसमेत निर्माण हुन्छ”, उनले भने “टपस्टेशनको माथि होटल र त्यो भन्दामाथि हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ ।”

केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर लामो हुनेछ । यसका लागि छ टावर निर्माण गरिनेछ । केबलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ । केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।

केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्ने व्यवस्थापक सावदले बताए । अहिले मन्दिर पुग्न एक हजार आठ सय ८२ खुड्किलो उक्लिँदा करिब ४५ मिनेट समय लाग्ने गरेको छ ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको जनाइएको छ । रासस

file photo

वि.सं.२०७९ पुस ४ सोमवार ०८:५० मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...