काठमाडौं । कोभिड १९ का कारण तीनवर्षदेखि बन्द रहेको केरुङ रसुवागढी नाका आजदेखी दुईतर्फी रुपमा संचालनमा आएको छ ।
दुवैतर्फ नाका खोलिएसँगै नेपालबाट चीनतर्फ नेपाली वस्तु निर्यात गर्ने र चीनबाट आयात गर्ने सामान चीन जान र नेपाल ल्याउन सुरु भएको छ ।
नाका संचालन भएसँगै आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक चीनतर्फ गएका छन् । यसअघि कोभिड १९ का कारण नेपालबाट निर्यात हुने सामानमा चीनले रोक लगाएको थियो ।

आजदेखि केरुङ–रसुवागढी नाकाबाट नेपाल–चीन दुईतर्फी व्यपार सुरु भएको भन्दै नेपालस्थित चिनिया दुतावासले चीन नेपालको थप सामानको प्रतिक्षामा रहेको बताएको छ ।
‘केरुङ.रसुवागढी नाकाबाट हुने दुईतर्फी व्यापार आजदेखि सुचारु भएको छ । नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्। नेपालको थप सामान निर्यातको प्रतीक्षामा चीन !’ दूतावासले तस्बिर सार्वजनिक गर्दै भनेको छ ।
आज बासबाट बनेका मुढा लगायतका ६ वटा कार्गो ट्रकमा चीनतर्फ नेपाली सामान पठाइएको पनि दूतावासले जनाएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख नारायण प्रसाद भण्डारीका अनुसार मंगलबार पहिलोदिन झण्डै ५० लाख रुपैयाँ बराबरका सामान चीनतर्फ निर्यात भएको हो ।
चीनमा नेपालका तर्फबाट चिउरा, मैदा, बनस्पति घिउ, चारचाउ, बिस्कुट, जाम चिउरा, कुचो, गलैचा, लगायतका सामानहरु निर्यात हुँदै आएको छ भने चीनतर्फबाट तयारी कपडा, जुत्ताचप्पल, झोला, स्याउ, मोटरको ब्याट्री, प्लास्टिका सामाग्री लगायतका सामानहरु आयात हुँदै आएको छ ।
वि.सं.२०७९ पुस १३ बुधवार १४:३२ मा प्रकाशित






























