काठमाडौं । एमाले–माओवादी केन्द्रको नेतृत्वमा सत्ता समीकरण निर्माण भएसँगै एकीकृत समाजवादीलाई सरकारमा सहभागि गराउने प्रयास भएका छन् । माओवादी केन्द्रसँगै एमालेकै नेताहरुले पनि एकीकृत समाजवादीलाई सरकारमा सहभागि गराउन प्रर्यत्न गरेका छन् ।
सरकारमा सहभागि गराउने विषयमा छलफलहरु भइरहँदा एमाले र एकीकृत समाजवादीबीचको दुरी भने घट्दै जान थालेको छ । एमाले र एकीकृत समाजवादीबीच सरकारमा सहभागी गराउने मात्रै नभई पार्टीबीच नै एकता गर्नेगरी पनि छलफल पनि सुरु भएका छन् ।
एमालेका उपाध्यक्षद्वय विष्णु पौडेल र सुवास नेम्वाङ्ग पार्टी एकताको अभियानमा कस्सिएर लागेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पौडेल र नेम्वाङ्गले निरन्तर भेटवार्तालाई बढाइरहेको बुझिएको छ ।
जसमा पूर्व एमालेका उपाध्यक्ष एवम् कम्युनिष्ट एकता अभियानका संयोजक वामदेव गौतम पनि सक्रिय बनेको देखिन्छ । गौतम निकट एक नेताले बताएअनुसार ओली र माधवबीच छिट्टै वार्ता गराउने तयारी चलेको छ ।
चुनावसँगै विभाजित थियो एस
चुनावमा अनपेक्षित नतिजासँगै एकीकृत समाजवादी आफैं विघटित हुने अवस्थामा पुगेको थियो । एकीकृत समाजवादीभित्र कुन पार्टीसँग एकता गर्ने भन्ने कोणबाट पेचिलो विवाद चलेको थियो ।
अध्यक्ष नेपाल माओवादीसँग एकता गर्नुपर्ने पक्षमा थिए भने सम्मानित नेता झलनाथ खनालसहितका नेताहरु एकीकृत समाजवादीलाई नै अगाडि बढाउनुपर्ने अडानमा देखिएका थिए ।
यता, उपमहासचिव जगन्नाथ खतिवडा, सचिव रामकुमारी झाँक्रीलगायतका नेताहरु भने एमालेसँगै निःशर्त एकताको पक्षमा देखिएका थिए । झाँक्रीले एमालेका दोस्रो तहका नेताहरुमार्फत एकताको विषयमा छलफल नै चलाएकी थिइन् ।
चुनावमा पराजय भएसँगै झाँक्रीले पार्टी एकताको पक्षमा आफ्ना भनाईहरु राखीरहेकी छिन् । उनले पछिल्लो एमाले–माओवादी समिकरणलाई पनि ‘ऐतिहासिक’ भनेर स्वागत गरेकी छिन् । पछिल्लो समीकरणसँगै उनी मात्रै नभई एसका अन्य नेताहरु पनि उत्साहित देखिएका छन् ।
तर, एकीकृत समाजवादीका प्रवक्ता जनन्नाथ खतिवडा सरकारमा सहभागि हुने विषय सकारात्मक भएपनि पार्टी एकताको विषय तत्कालको लागि सम्भावना नरहेको बताउँछन् । उनका अनुसार जुन कारणले पार्टी विभाजन भएको थियो उक्त कारण जिवितै छ ।
सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेका छन्, “हामीले जुन कारणले विद्रोह गरेका छौं, आज त्यो जिवितै छ, त्यसकारण एकता भइहाल्छ भनेर बुझ्नु गलत हुन्छ ।”
याे पनि…
वि.सं.२०७९ पुस १४ बिहीवार १७:५६ मा प्रकाशित






























