
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र आन्तरिक विवाद बढ्न थालेको छ । निर्वाचनको नतिजासँगै एसभित्र पार्टी नै विभाजन गर्नेगरी विवाद बढेको हो । निराशाजनक चुनावी परिणामसँगै एसभित्र एमालेसँग एकता गर्ने वा माओवादी केन्द्रसँग एकता गर्ने भन्ने कोणबाट विवाद पेचिलो बनेको छ ।
एसभित्र चुनावी परिणामसँगै प्रष्टरुपमा तीन धार देखिएको छ । जसमा एकीकृत समाजवादीलाई नै अगाडि बढाउने भन्ने समूह निकै कमजोर छ भने एमालेसँग एकता गर्ने वा माओवादीसँग भन्ने समूह भने बलिया देखिएका छन् ।
अध्यक्ष माधवकुमार नेपाल माओवादी केन्द्रसँग एकता गर्नुपर्ने पक्षमा देखिएका छन् । तर, उनीसहितको अर्को मुख्य पंक्ति भने एकीकृत समाजवादीलाई नै कायमै राख्ने पक्षमा देखिएको छ । सम्मानित नेता झलनाथ खनाल, महासचिव बेदुराम भुसाललगायत एकीकृत समाजवादीलाई नै अगाडि बढाउने पक्षमा देखिएका छन् ।
तर, उपमहासचिव जगन्नाथ खतिवडा, सचिव रामकुमारी झाँक्रीलगायतको पंक्ति भने एमालेसँगै वार्ता गरेर एकता गर्नुपर्ने पक्षमा देखिएका छन् । झाँक्रीले पछिल्लो समय एमालेभित्रको एउटा समूहसँग एकताको प्रयास गरिरहेको पनि चर्चा यसअघि नै बाहिरिएको थियो । चुनावको परिणामलगत्तै नेतृ झाँक्रीले एमालेका उपमहासचिव विष्णु पौडल र नेता खिमलाल भट्टराईसँग छलफल गरी ‘तस्बिरमा सन्देश छ’ भन्दै सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । उनले उक्त तस्बिरबाट एकताको सन्देश दिएकी थिइन् ।
एसभित्र एकातिर माओवादीसँग एकताको लागि अध्यक्ष माधव नेपालले औपचारिकरुपमै छलफल सुरु गरेका छन् भने महासचिवसहितको पंक्ति भने आक्रामक विरोधमा देखिएका छन् । चुनावमा एउटै चुनाव चिन्ह र घोषणापत्र बनाएर जानेसम्म दुई पार्टीको नेतृत्वबीच छलफल भएको थियो । तर, एसभित्रको एकताविरोधी समूहले भने उक्त तयारीलाई टुटाएको थियो ।
नेताहरुका पछिल्ला अभिव्यक्ति र अभिव्यक्तिलाई लिएर समाचारहरु बाहिरिएसँगै महासचिव भुसालले औपचारिक रुपमै विज्ञप्तिमार्फत विरोध जनाएका थिए । भुसालको विज्ञप्तिसँगै एसभित्र विवाद थप बढेको छ । महासचिव भुसालले एसले कुनै पार्टीसँग तत्काल एकता गर्ने पक्षमा नरहेको बताएका थिए । उनले माओवादीसँग एकता गर्ने विषयमा छलफल भएपनि एकताको कुरा अघि नबढेको दाबी गरेका थिए । सारमा माओवादी केन्द्रसँग एकता हुने सम्भावना कम रहेको उनको भनाई छ ।
एकता अभियानमा घनश्यामको सक्रियता
नेता घनश्याम भुसाल अहिले पार्टीबिहीन छन् । एमालेले प्रतिनिधिसभा सदस्यका लागि टिकट नदिएसँगै भुसाल एमालेबाट बाहिरिएका थिए । एमालेबाट बाहिरिएका भुसालले चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई चुनावमा विशेषतः माओवादीले आफ्नै उम्मेदवार झैं सघाएको थियो ।
माओवादीले चुनावमा सघाए पनि जित्न नसकेका भुसाल पछिल्लो समय पार्टी एकता अभियानमा जुटेका छन् । एमालेमा नफर्किने गरी बाहिरिएका भुसाल माओवादी र एस मिलाएर बेग्लै पार्टी बनाउने अभियानमा सक्रिय छन् ।
भुसालले पछिल्लो योजनाअनुसार आइतबार माधव नेपालसँग भेट गरेका थिए । उनी निकटस्थ एक नेताले बताएअनुसार आइतबारको भेटमा तत्कालै पार्टी एकताको प्रयास थाल्नेबारे चर्चा भएको थियो ।