काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयलाई लिएर संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत भएको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
सोमबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद चन्द्रबहादुर केसी र जगत तिमिल्सिनाले सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार रास्वपाले ३५ हजारभन्दा बढी १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन्।
सांसद केसीले विद्यार्थी युनियनको आवश्यकता नरहेको धारणा राख्ने रास्वपाले आफ्नै पार्टीमा बालबालिकालाई सदस्यता दिएको विषय विरोधाभासपूर्ण भएको टिप्पणी गरे। उनले सुकुम्बासीहरूको समस्या समाधानतर्फ पनि सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूको अवस्था चिन्ताजनक रहेको बताए।
यस्तै, सांसद तिमिल्सिनाले नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन तथा बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाअनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन नहुने उल्लेख गर्दै उक्त विषयमा राष्ट्रिय मानव अधिकार आयोगसहित सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरे।
उनले संविधान र कानुनविपरीतका गतिविधिमा संलग्न भएको आरोप लाग्दा पनि सरकार मौन रहेको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद तिमिल्सिनाले संविधान र कानुन सबै राजनीतिक दलका लागि समान रूपमा लागू हुनुपर्ने धारणा समेत राखे।
रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा पार्टीको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।
वि.सं.२०८३ असार १५ सोमवार १६:४९ मा प्रकाशित






























