काठमाडौं । विदेशबाट मोबाइल तथा ल्यापटपलगायतका सामान ल्याउन कडाई गर्ने नीतिअनुसार ल्याइएको एमडिएमस सिस्टम तत्काल लागु नहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा तत्कालका लागि यो सिस्टम रोेकिएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई पुरानै प्रक्रिया रहन दिन निर्देशन दिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ देखि आफ्नो सिस्टममा नदेखिएका मोबाइललाई सञ्चालन गर्न नदिने जनाएको थियो । जसको लागि उसले एमडीएमस सिस्टम ल्याएको थियो ।
विदेशबाट ल्याएका मोबाइल उक्त सिस्टममा दर्ता हुनुपथ्र्यो । जसका लागि १८ प्रतिशतसम्म भन्सार शुल्क बुझाउनु पथ्र्यो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले उक्त कुराको विरोध गर्दै आएका थिए । उनीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दैै सरकारको नीतिप्रति विरोध जनाएका थिए । वैदेशिक रोजगारीमा रहेकाको चर्को विरोध देखिएपछि सरकार तत्कालका लागि पछि हटेको हो ।
वि.सं.२०७९ पुस १५ शुक्रवार १२:२२ मा प्रकाशित






























