काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्री पद नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो चलाउने सहमति भएको छ ।
यसअघि केन्द्रमा शिर्षनेताहरुबीच भएको प्रदेश भागवण्डामा नेकपा माओवादी केन्द्रले पाँचैवर्ष मुख्यमन्त्री चलाउने सहमति भएपनि प्रदेशमा एमालेको अडानपछि आलोपालो मुख्यमन्त्री चलाउने सहमति भएको हो ।
बुधबार बसेको एमाले माओवादीको बैठकले पहिले माओवादी र बाँकी कार्यकाल एमालेले चलाउने सहमति भएको हो । उक्त सहमति अनुसार नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा आफ्नो दावी पेश गर्नेछन् ।
राजकुमार शर्माले साढे दुईवर्ष मुख्यमन्त्री चलाएपछि एमाले संसदीय दलका नेता यामलाल कँडेलले पछिल्लो कार्यकाल मुख्यमन्त्री चलाउने भएका छन् ।
यसअघि सत्तासाझेदार दलबीच नेकपा एमालेले प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा माओवादी केन्द्रले कर्णालीमा एकल नेतृत्वमा सरकार चलाउने सहमति भए पनि कर्णालीसहित लुम्बिनी र प्रदेश १ मा पनि आलो/पालो सरकार चलाउने सहमति भएको छ ।
वि.सं.२०७९ पुस २७ बुधवार १६:४२ मा प्रकाशित






























