back
CTIZAN AD

सेयर बजारमा किन उत्साह देखिँदै छ ? यस्ता छन् कारण

वि.सं.२०७९ पुस २७ बुधवार

543 

shares

काठमाडाैं। पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै उकालो लागिरहेको शेयर बजार परिसूचक नेप्से यो साता विगत पाँच महिनायताकै उच्चबिन्दुमा पुगेपछि लगानीकर्ताहरू उत्साहित बनेका छन्। गत साउन १७ गते २,१९६.२५ अङ्कमा बन्द भएको शेअर बजार परिसूचक सोमवार २,२११.७७ अङ्कमा पुग्यो।

सोमवार एक दर्जनजति कम्पनीको शेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको थियो। त्यसरी सकारात्मक सर्किट लेभलमा पुग्नेमा धेरैजसो जलविद्युत्‌ कम्पनीहरू थिए।

मंगलबार नेप्से परिसूचक २१ अङ्कले घटेर २१९०.४२ मा बन्द भए पनि पछिल्लो चढावसँगै उत्साहित बनेका लगानीकर्ताहरूले नेप्से अझै उक्लिने विश्वास व्यक्त गरेका छन्। लगानीकर्ताहरूको मनोबल घट्न नदिन सरकारले पनि आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनीहरूको आग्रह छ।

केही महिनाअघि शेयर लगानीकर्ताहरूले उठीबासको अवस्था आएको भन्दै सरकारलाई गुहारेका थिए। पछिल्ला दिनमा शेयर कारोबारमा वृद्धि हुनुमा तीनवटा प्रमुख कारण रहेको लगानीकर्ताहरूले बताएका छन्।

सरकारको नीति

पुँजीबजारलाई लिएर नयाँ सरकारले देखाएको चासो लगानीकर्ताहरूको मनोबल बढाउनुमा प्रमुख कारण रहेको उनीहरूको तर्क छ। “मन्त्रिपरिषद्‌को पहिलो बैठककै निर्णयमा पुँजीबजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने विषय पर्‍यो जसले लगानीकर्तामा एक किसिमको आत्मविश्वास बढायो,” नेपाल उद्योग वाणिज्य महासङ्घको पुँजीबजार समितिका सभापति तथा लगानीकर्ता अम्बिका पौडेलले भनेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‌को पहिलो बैठकका पाँचवटा निर्णयको पहिलो बुँदामै पुँजी बजारसम्बन्धी निर्णय परेको थियो। “अर्थतन्त्रमा देखिएका तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चितिमा परेको तथा पुँजी बजारमा आएको गिरावटलाई वित्तीय र मौद्रिक नीतिको सामञ्जस्य कार्यान्वयनबाट सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने” निर्णयमा छ।

“विगतमा सरकार, निकामक निकाय र पुँजी बजारसँग प्रत्यक्ष सम्बन्ध भएका निकायको पुँजी बजारप्रतिको धारणाले लगानीकर्तामा एक किसिमको निराशा थियो,” पौडेलले थपे।

वर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई पुँजी बजारप्रति सकारात्मक धारणा राख्ने राजनीतिज्ञका रूपमा कतिपयले लिने गरेका छन्। “विगतमा पनि उहाँ अर्थमन्त्री हुँदा शेयर बजारमा उत्साह देखिएको थियो। नेप्से हेर्दा त्यो अहिले पनि देखियो,” नाम खुलाउन नचाहने एक लगानीकर्ताले भने।

आर्थिक सूचकमा सुधार

नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क हेर्दा पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको देखिन्छ। त्यसैगरी अहिले विप्रेषण आप्रवाह अर्थात्‌ रेमिट्यान्स पनि बढ्न थालेको देखिन्छ। “यी आर्थिक सूचकहरूमा देखिएको सुधारले पनि शेयर कारोबारमा सकारात्मक प्रभाव देखिएको हो,” अर्का लगानीकर्ता बच्चुराम रिमालले भने ।

राजस्व सङ्कलनमा पनि तुलनात्मक रूपमा सुधार देखिएपछि शेयर लगानीकर्ताहरूमा त्यसको सकारात्मक प्रभाव परेको उनीहरूले बताएका छन्।

तरलताको अवस्थामा सुधार

पछिल्लो समय लगानीयोग्य पुँजी अभावको अवस्थामा केही सुधार हँदै गएको तथ्याङ्कले देखाउँछ। “ब्याङ्किङ क्षेत्रमा अहिले तरलता बढ्ने र ब्याजदर घट्ने भन्ने अपेक्षा छ। तत्कालीन अर्थमन्त्री र गभर्नरबीच तिक्तताका कारण पनि केही समयअघि केन्द्रीय ब्याङ्कबाटै त्यति सकारात्मक सन्देशहरू आइरहेको थिएन,” अर्का लगानीकर्ताले भने, “त्यो भएर पनि अहिले शेयर लगानीकर्ताहरूको मनोबल बढेको देखिन्छ।”

लगानीकर्ता रिमालका अनुसार नेपालमा अहिले शेअरको ‘बुक क्लोजिङ’को समय हुनु पनि शेअर बजार परिसूचक उकालो लाग्नुको एउटा कारण हुनसक्छ। बीबीसीबाट

वि.सं.२०७९ पुस २७ बुधवार १७:३५ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...

नेप्से परिसूचक ४८ अंकले बढ्यो

नेप्से परिसूचक ४८ अंकले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८ दशमलव ७१...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा रकम दुरुपयोगको कडा प्रतिवाद

काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज...