काठमाडाैँ । हालै सार्वजनिक भएका भ्रामक समाचारप्रति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले गम्भीर ध्यानाकर्षण जनाएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफू र आफ्ना सहायक कम्पनीसँग जोडेर प्रचारित गरिएको ३७ करोड रुपैयाँ दुरुपयोग सम्बन्धी समाचार पूर्ण रूपमा गलत, भ्रामक र आधारहीन रहेको स्पष्ट पारेको छ।
केही दिनअघि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हिमालयन रिइन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्ट (नागरिकता नं. १०७ कैलाली) ले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड लगायतका कम्पनीका शेयर खरिद गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरेको भन्ने समाचार प्रकाशित भएका थिए। उक्त रकम भृकुटी स्टक ब्रोकर कम्पनी प्रा. लि. (धितोपत्र दलाल नं. ५५) मार्फत दोस्रो बजारमा लगानी गरिएको दाबी समेत गरिएको थियो।
तर कम्पनीले यी सम्पूर्ण आरोपहरू अस्वीकार गर्दै यस्तो कुनै पनि आर्थिक कारोबार, लगानी वा सम्बन्धित गतिविधिमा आफ्नो संलग्नता नरहेको जनाएको छ। विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग कम्पनीको यस विषयमा कुनै प्रकारको सम्बन्ध छैन र कुनै पनि प्रकारको शेयर कारोबार समेत सम्पन्न भएको छैन।
कम्पनीका अनुसार यस्ता भ्रामक समाचारले संस्थाको प्रतिष्ठा, लगानीकर्ताको विश्वास तथा समग्र बीमा क्षेत्रमै नकारात्मक प्रभाव पार्न सक्ने भएकाले तथ्यहीन सूचना प्रचार नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ। साथै, यस्ता गलत सूचना फैलाउनेहरूमाथि आवश्यक परे कानुनी प्रक्रिया अघि बढाइने संकेत पनि कम्पनीले दिएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफू सधैं प्रचलित कानून, नियामक निकायका निर्देशन तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै पारदर्शी रूपमा व्यवसाय सञ्चालन गर्दै आएको बताएको छ। कम्पनीले आफ्ना सम्पूर्ण सरोकारवालाहरू—लगानीकर्ता, सेवाग्राही तथा सर्वसाधारण—लाई यस्ता अपुष्ट र भ्रामक समाचारप्रति सचेत रहन आग्रह गरेको छ।
बीमा क्षेत्रका जानकारहरूका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा पुष्टि नभएका आर्थिक समाचारहरू तीव्र रूपमा फैलिने क्रम बढेको छ, जसले बजारमा अनावश्यक उतारचढाव ल्याउन सक्छ। त्यसैले आधिकारिक स्रोतबाट पुष्टि नभएसम्म यस्ता सूचनामा विश्वास नगर्नु नै उपयुक्त हुने उनीहरूको सुझाव छ।
वि.सं.२०८२ चैत २० शुक्रवार १३:२१ मा प्रकाशित



























