
काठमाडौं । सबै प्रदेश तहमा सभामुखको निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । सकस देखिएको सुदूरपश्चिम र मधेश प्रदेशको निर्वाचन सकिएसँगै प्रदेशहरुमा सभामुखको चयन प्रक्रिया पनि सकिएको हो ।
प्रदेश तहमा भएको निर्वाचनमा सबै प्रदेशमा सत्ता गठबन्धनमा आबद्ध दलहरुकै तर्फबाट सभामुख चयन भएका छन् । माओवादी केन्द्रले चार वटा प्रदेशमा सभामुख पाएको छ भने एमालेले दुई र राप्रपाले एक वटा प्रदेशमा सभामुख पाएको छ ।
माओवादी केन्द्रको तर्फबाट प्रदेश १ मा बाबुराम गौतम, गण्डकी प्रदेशमा कृष्ण धिताल, लुम्बिनीमा तुलाराम घर्टी, सुदूरपश्चिममा भीमबहादुर भण्डारी सभामुख बनेका छन् ।
यसैगरी, एमालेको तर्फबाट मधेश प्रदेशमा रामचन्द्र मण्डल र कर्णालीमा नन्दा गुरुङ सभामुखमा चयन भएका छन् । राप्रपाले बागमतिको सभामुख पाएको छ । बागमतिमा गठबन्धनकै सहयोगमा राप्रपाका भुवन पाठक सभामुख बनेका छन् ।
छ प्रदेशमध्ये कर्णालीमा मात्रै यसपटक महिला सभामुख चयन भएकी छिन् ।