काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका नेता देवराज घिमीरे विजयी भएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ को उपनियम ४ बमोजिम देवराज घिमीरेलाई बहुमतका साथ प्रतिनिधि सभाको सभामुखमा निर्वाचित गरेको हो ।
घिमीरेलाई आफ्नो पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका सांसद र तीन स्वतन्त्र सांसदको मतसहित १६७ मत प्राप्त गरी सभामुखमा विजयी भएका हुुन् ।
सभामुख पदका लागि उपस्थित २७५ सांसदमध्ये १३८ मत प्राप्त गरे हुनेमा घिमीरेलाई १६७ मत प्राप्त भएको थियो । संसदका २७५ सांसदमध्ये उपस्थित २६८ सांसदमा १६७ जनाले सभामुखपदमा घिमीरेलाई मत दिएका थिए । साथै १ सांसद तटस्थ बसेका थिए । सभामुख घिमीरे झापा २ बाट प्रतिनिधि सभा सदस्य हुन् ।
त्यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार इश्वरी न्यौपानेलाई आफ्नो पार्टी एकिकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीको र राष्ट्रिय जनमोर्चा गरी १०० मत प्राप्त भएको थियो ।
यसअघि विश्वासको मत दिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा निर्विरोध बनाएको नेपाली कांग्रेसले सभामुख पदका लागि आफ्नो उम्मेदवार विजयी बनाउन मत नपुग्ने भएपनि गठबन्धनका उम्मेदवारलाई निर्विरोध जस्तै हुन नदिन मैदानमा उम्मेदवार खडा गरेको बताउँदै आएको छ । दाङकी न्यौपाने कांग्रेसबाट समानुपातिक सांसद हुन् ।
वि.सं.२०७९ माघ ५ बिहीवार १५:२० मा प्रकाशित





























