back
CTIZAN AD

पहिलो सम्बोधनमा के भने सभामुख घिमिरेले ?

वि.सं.२०७९ माघ ७ शनिवार

792 

shares

काठमाडाैं । सभामुख देवराज घिमिरेले आफूले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर संवैधानिक मर्यादा र भूमिकालाई इमान्दारीपूर्वक निभाउने प्रतिवद्वता जनाएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा पहिलो सम्बोधन गर्दै सभामुख घिमिरेले सभामुखको तटस्थ निष्पक्ष र समन्वयकारी भूमिकामा आफू सचेत र क्रियाशील रहेको बताए ।

कार्यसूचीमा रहेका विषयहरूमा प्रवेश गर्नुअघि उनले लिखित वक्तव्य पढेर सुनाएका हुन् ।

सम्बाेधनका क्रममा उनले आफू बेलायती संसदीय अभ्यासको क्रममा विकसित भएको ‘सरकार सत्तापक्षको, संसद प्रतिपक्ष’को भन्ने मान्यतामा प्रष्ट रहेको भन्दै संसद्लाई तदनुकुल सञ्चालन गर्ने बताएका छन् । उनले जनताले आफ्नो सार्वभौमिक अधिकारको प्रयोग गर्ने उच्चतम थलो प्रतिनिधिसभामा त्यो अधिकारको प्रयोग गर्नका लागि दलहरुबाट सहयोग हुने अपेक्षा राखेको बताए ।

यस्ताे छ, सभामुख घिमिरेले गरेकाे पहिलाे सम्बाेधनः

माननीय सदस्यहरू

आजको कार्यसूचीमा रहेका विषयहरूलाई अघि बढाउनुभन्दा पहिला यस गरिमामय सदनमा म आफ्ना केही भनाइहरू राख्न चाहन्छु ।

प्रतिनिधि सभाको यो बैठकमा सभामुखको हैसियतले प्रथम पटक सम्बोधन गर्ने अवसर जुटाइ दिनुभएकोमा सम्पूर्ण माननीय सदस्यहरूप्रति हार्दिक आभार र कृतज्ञताका साथै यो अवसरको लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
लोकतन्त्र प्राप्ति, सामाजिक परिवर्तन, कानुनी शासन र समृद्धिको पक्षमा हालसम्म भएका आन्दोलनमा जीवन आहुती दिने सम्पूर्ण सहिदहरूको उच्च सम्मानका साथ स्मरण गर्दै उहाँहरूले देखाउनु भएको बाटोमा अविचलित क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

नेपालको संविधानले अंगिकार गरेका मुलभूत मान्यताहरूको संरक्षण, सम्बर्द्धन र विकास गर्दै संविधानवाद र कानुनको शासनप्रति प्रतिबद्ध रहेर नै हामीले अंगिकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्यप्रति हामी सबै प्रतिबद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन । नेपालको संविधानले अंगीकार गरेको जनतामा निहित सार्वभौम सत्ताको प्रयोग नेपाली जनताले आवधिक निर्वाचनको माध्यमबाट गरी यो प्रतिनिधिसभा गठन भएको छ । जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रूपमा आत्मसात् गर्नु मेरो प्राथमिक दायित्व हो ।

बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले दलहरूको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहन्छ । त्यसैले संसदमा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरूबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्दछु । सभामुखको पद तटस्थ, निष्पक्ष र समन्वयकारी हुने भएकोले यो पदको गरिमा र शाखको अभिवृद्धि गर्नु मेरो संवैधानिक दायित्व हो भन्ने कुरामा म सदैव सचेत र क्रियाशील रहने छु ।

CG GroupKhukuri rum
संसदमा राजनीतिक दलहरूको बीचमा दार्शनिक, नीतिगत र कार्यक्रमिक प्रतिस्पर्धा हुनु यसको आधारभूत चरित्र नै हो । त्यसैले संसद प्रतिस्पर्धाको थलो पनि हो । संसदमा हुने नीतिगत बहस विमर्श र स्वस्थ प्रतिस्पर्धा नै संसदीय व्यवस्थाको जिवन्तता हो । त्यस्तो स्वस्थ र नीतिगत बहसलाई प्रतिनिधि सभामा उचित व्यवस्थापनका साथ प्रोत्साहित गरिनेछ भन्ने सम्वन्धमा माननीय सदस्यहरूलाई विश्वास दिलाउन चाहन्छु ।

संसदीय व्यवस्थामा सत्तापक्ष आफ्नो नीति कार्यक्रम र योजनाका माध्यमबाट जनता समक्ष पुगेको हुन्छ भने प्रतिपक्षी दलहरू सत्तापक्षको नीतिगत र कार्यक्रमिक योजनाको गुण र दोषको बारेमा सत्तापक्षलाई सचेत र खबरदारी गर्ने गर्दछन् । प्रतिपक्षको आवाजको उचित सम्बोधन गर्नका लागि उसले संसदमा तदनुकूलको अवसर प्राप्त गर्नु पर्ने भएकोले बेलायती संसदीय अभ्यासको क्रममा विकसित भएको ‘सरकार सत्तापक्षको, संसद प्रतिपक्ष’को भन्ने मान्यतालाई संसदमा मुखरित हुन दिनु पर्दछ भन्ने कुरामा म सचेत छु ।

प्रतिनिधि सभा सञ्चालनका लागि संविधान र प्रचलित कानुन एवम् प्रतिनिधि सभा नियमावलीले गरेका मार्ग दर्शन नै सभा सञ्चालनका प्रमुख आधार रहनेछन् । यसका अतिरिक्त सभा सञ्चालनका लागि हामी आफैंले विकसित गरेका असल अभ्यास र लोकतान्त्रिक मुलुकका संसदमा विकसित भएका असल अभ्यासहरू समेत हाम्रा लागि प्रेरणादायी हुन सक्छन् । त्यस भन्दा पनि संविधान र कानुनका अधिनमा रही राजनीतिक दलहरूको आपसी सहमति र सहकार्य नै सभा सञ्चालनका मजबुत आधारहरू हुन् । नेपाली जनताले आफ्नो सार्वभौमिक अधिकारको प्रयोग गर्ने उच्चतम थलो यही प्रतिनिधि सभा भएकोले जनताको त्यो अधिकारको प्रयोग गर्ने राजनीतिक दलहरूले सभा सञ्चालनका लागि निरन्तर सहयोग गर्नेछन् भन्ने पूर्ण अपेक्षाका साथ माननीय सदस्यहरू मार्फत सम्पूर्ण राजनीतिक दलहरूलाई आवश्यक सहयोगका लागि सादर अनुरोध गर्न चाहन्छु ।

यो प्रतिनिधि सभा राष्ट्रियता, जनजिविका, राष्ट्रिय हित र समृद्धिका पक्षमा निरन्तर क्रियाशील रहँदै कानुन बनाउने आफ्नो मुलभूत कार्य प्रति सदैव क्रियाशील रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु । राजनीतिक दलहरूका बीचमा यदाकदा संसदमा हुने बहस र विमर्शको क्रममा उत्पन्न हुन सक्ने स्वभाविक प्रतिस्पर्धा र मनमुटावलाई आपसी संवाद र समन्वयको माध्मवाट समाधान गर्न म सदैव क्रियाशील रहनेछु । प्रतिनिधि सभामा उपस्थित सबै राजनीतिक दल र माननीय सदस्यहरूलाई त्यस प्रयोजनका लागि सभामुखको कार्यकक्ष सदैव खुल्ला रहनेछ छ ।

लामो समयको आन्दोलन र बलिदानको प्रतिफल स्वरूप प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र यो संविधानलाई क्रियाशील, सबल र जिवन्त बनाउँदै नेपाली जनताको विकास र समृद्धिको व्यग्रतापूर्वकको चाहनालाई सफलिभूत बनाउने कार्यमा यो प्रतिनिधि सभा निरन्तर क्रियाशील रहनेछ भन्ने दृढ विश्वास समेत व्यक्त गर्न चाहन्छु । सभा सञ्चालनका लागि सभामा उपस्थित सबै माननीय सदस्यहरूको रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि अनुरोध गर्न चाहन्छु ।

करिब पाँच दशकको राजनीतिक जीवनको क्रममा मैले जे जस्तो अनुभव र शिक्षा प्राप्त गरेको छु, त्यसैको आधारमा मलाई यो प्रतिनिधि सभाले सभामुखको पदमा निर्वाचित गरेको हो भन्ने मेरो विश्वास छ । सभामुखमा निर्वाचित भइसकेपछि मैले आफ्नो विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु मेरो कर्तव्य हुनेछ । त्यही प्रयोजनका लागि सभामुखको निर्वाचनसँगै म आबद्ध रहेको राजनीति दल नेकपा (एमाले)सँगको सबै प्रकारको आवद्धता यो पदमा क्रियाशील रहँदासम्म परित्याग गरि सकेको जानकारी गराउँछु ।

अन्त्यमा, प्रतिनिधि सभाको सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरूको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । यो प्रतिनिधि सभाको हाल सम्म अध्यक्षता गर्नु हुने जेष्ठ सदस्य माननीय पशुपति शम्शेर जबरालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

देवराज घिमिरे
सभामुख
प्रतिनिधि सभा
२०७९।०९।०७

वि.सं.२०७९ माघ ७ शनिवार १७:२३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...