
काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीबीच एकताका लागि आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ । शनिबार दुई पार्टीका वार्ता टोलीबीच एकताबारे छलफल भएको थियो ।
बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिएका छन् । जसअनुसार एकता शीघ्र सम्पन्न गर्न आ–आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेस गर्ने तथा दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने सहमति भएको हो ।
गत निर्वाचनमा नै एकता गर्ने सहमतिअनुसार नेसपाले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिइसकेको छ । दुवै पार्टीबीच एकताको सहमति भइसकेको छ ।
श्रेष्ठले जनाएअनुसार आगामी माघ १० गते बस्ने अर्को बैठकले एकताको टुंगो लगाउनेछ ।