back
CTIZAN AD

आरोप पुष्टि गर्न रविलाई सिरोहियाका पाँच बुँदे चुनौति (विज्ञप्तिसहित)

वि.सं.२०७९ माघ २४ मंगलवार

879 

shares

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले लगाएका आरोपहरुको खण्डन गर्दै पुष्टि गर्न चुनौति दिएका छन् । मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले पाँच बुँदामा यस्तो चुनौति दिएका हुन् ।

सिरोहियाले कान्तिपुरमात्रै नभई समग्र नेपाली प्रेसको विश्वसनीयतामाथि लामिछानेबाट नियोजित प्रहार भएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको फैसलापछि पद गुमाउनु परेको, गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएको झोकमा तथा दोहोरो पासपोर्टसम्बन्धी प्रहरी अनुसन्धानलाई प्रभावित पार्न लामिछानेले समग्र नेपाली मिडियामाथि सुनियोजित प्रहार गरेको सिरोहियाले उल्लेख गरेका छन् ।

सिरोहियाले वक्तव्यमा लेखेका छन्, “हामीले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् ? मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु । के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ?”

यस्तो छ सिरोहियाले पाँच बुँदामा दिएको जवाफ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजीले आइतबार पत्रकार सम्मेलन गरी समग्र नेपाली सञ्चारजगत् र सञ्चारकर्मीविरुद्ध विषवमन गर्ने शैलीमा जथाभावी निराधार लाञ्छनाहरू लगाएकामा सर्वप्रथम म खेद प्रकट गर्दछु । उहाँले सम्मानित सर्वोच्च अदालतले नागरिकता मुद्दामा आफूलाई दोषी ठहर गर्दै पदमुक्त गरेकामा वा त्यसपश्चात् गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएकामा झोंक पोख्नुभएको होला । अथवा प्रहरीले अनुसन्धान गरिरहेको दोहोरो पासपोर्टसम्बन्धी मुद्दालाई विषयान्तर र प्रभावित गर्न चाहनुभएको होला । कारणहरू जे–जे होऊन्, उहाँले आफ्ना गल्ती–कमजोरी ढाकछोप गर्न वा त्यससम्बन्धी समाचारहरू आउन नदिन समग्र नेपाली मिडियाको प्रतिष्ठा र विश्वसनीयतामाथि जसरी सुनियोजित प्रहार गर्न खोज्नुभएको छ, त्यो हामी स्वतन्त्र प्रेस र लोकतन्त्र पक्षधर जोकसैलाई पनि सह्य हुनेछैन ।

लामिछानेले सोही पत्रकार सम्मेलनमा व्यक्तिगत रूपमा मलाई, मेरो परिवारका सदस्यलाई र म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुपलाई जसरी लाञ्छित गर्न खोज्नुभएको छ, त्यसलाई पुष्टि गर्न म उहाँलाई निम्न चुनौतीहरू दिन चाहन्छु :

१) चन्द्रागिरि केबलकारका बारेमा कान्तिपुर ले आफ्नो व्यावसायिक धर्मअनुरूप समाचारहरू छापेको थियो । त्यसैलाई बहाना बनाएर मैले चन्द्रागिरिमा सेयर लिएको भन्दै लामिछानेले जसरी झुटो आक्षेप लगाउनुभएको छ, ‘चन्द्रागिरि हिल्समा उहाँले खाएको कसलाई थाहा छैन र ?’ भन्दै जसरी मेरो मानमर्दन गर्नुभएको छ, त्यसप्रति मेरो गम्भीर आपत्ति छ । उहाँलाई थाहा छ कि छैन— चन्द्रागिरि हिल्स पब्लिक लिमिटेड कम्पनी हो, जसमा सुरुदेखि हालसम्म कस–कसको कति–कति सेयर छ, त्यो जोकसैले सम्बन्धित सरकारी कार्यालयबाट सहजै चेक गर्न मिल्छ । चन्द्रागिरिमा मेरो वा मेरो परिवारका कुनै सदस्यको कहिल्यै एक कित्ता पनि सेयर थिएन/छैन । लामिछानेले झुटो आरोप लगाएकामा म घोर आपत्ति प्रकट गर्दछु ।

२) २०७२ मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलामा मेरा छोरा सम्भव सिरोहिया चढेको कार दुर्घटनामा परेको विषयलाई पनि लामिछानेले अतिरञ्जित ढंगबाट प्रस्तुत गर्नुभएको छ, मानौं— त्यहाँ कुनै ठूलै ‘काण्ड’ भएको थियो, जसलाई जबर्जस्ती लुकाउन खोजियो ! लामिछानेले चित्रण गरेझैं त्यो दुर्घटनामा परेको कारले न बाटोमा हिँडेका कुनै व्यक्तिलाई हिर्काएको थियो, न त अर्को कुनै गाडीलाई ठोक्काएको थियो । त्यहाँ आफू चढेको एक्लो गाडी दुर्भाग्यवश दुर्घटनामा परेको थियो, कारमा रहेका एक नातेदारलाई सामान्य चोट लागेको थियो, उनलाई छेवैको नर्भिक अस्पतालमा केही बेर उपचार गरिएको थियो । त्यसलाई कसैले लुकाएको पनि थिएन, लुकाउनुपर्ने कारण पनि थिएन । बरु त्यस घटनाबारे तत्कालै सम्भवले बग्गीखानास्थित ट्राफिक प्रहरीलाई औपचारिक जानकारी गराएका हुन् । प्रहरी रेकर्डमै रहेको त्यो घटनालाई लुकाउन खोजियो भन्दै गृहमन्त्री भइसकेका व्यक्तिले किन भ्रम छर्नुभएको हो, हामी आश्चर्यचकित छौं । यस्तो असत्य बोलेर व्यक्तिगत प्रतिष्ठामा आँच पुर्‍याउने अधिकार तपाईंलाई कसले दियो ?

३) सोल्टी होटलमा कुनै महिलालाई कसैले दुर्व्यवहार गर्‍यो भन्ने बनावटी घटनामा मलाई समेत जोड्दै ‘सीधा कुरा’ नामको फेसबुक अकाउन्टबाट मेरो चरित्रहत्या गर्न खोजिएपछि मैले अगस्ट २७, २०२० मा त्यसको खण्डन गर्दै एउटा ट्वीट गरेको थिएँ । त्यसमा मैले त्यसरी दुष्प्रचार गर्नेविरुद्ध सख्त कानुनी कारबाही गर्न प्रहरीमा उजुरी दिएको समेत उल्लेख गरेको थिएँ । लामिछानेले दुर्व्यवहारको त्यही कपोलकल्पित घटनामा मलाई फेरि जोड्दै भन्नुभएको रहेछ, ‘त्यो ट्वीटमा भनिएजस्तो सिरोहियाले उजुरी कहाँ र कहिले दिएका हुन्, अहिलेसम्म कसैलाई थाहा छैन ।’ त्यसबारे २०७७ भदौ ११ गते हामीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दर्ता गरेका थियौं । सोल्टी होटलले समेत त्यो कपोलकल्पित प्रचारबाजीमा उल्लिखित ९२८ नम्बरको कोठा नै आफ्नो होटलमा नरहेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको थियो । र, ‘सीधा कुरा’मार्फत् झुटो सामग्री प्रकाशन गर्ने व्यक्तिलाई ‘तत्काल पक्राउ गरी विद्युतीय कारोबार ऐन–२०६३, दफा ४७ को कसुरमा अनुसन्धान गरी सजाय गरी पाऊँ’ भन्दै महानगरीय प्रहरी अपराध महाशाखामा उजुरीसमेत दिएको थियो । यो यथार्थ हुँदाहुँदै गृहमन्त्री भइसकेका व्यक्तिले त्यो घटनामा उजुरी नै नदिएको भन्दै भ्रामक हल्ला फैलाउन मिल्छ ?

४) लामिछानेले ‘कसैले इन्सुरेन्स खोल्यो, उहाँलाई चढाउनुपर्ने’ भन्दै हिमालयन रिइन्सुरेन्स लिमिटेडमा रहेको मेरो लगानीबारे पनि प्रश्न उठाउनुभएको रहेछ । त्यसबारे मैले सामाजिक सञ्जालहरूमा पनि जिज्ञासाहरू आएको देखें । केही वर्षअघि त्यो कम्पनी खडा गरिँदा मैले पनि एक व्यवसायीका रूपमा १० करोड रुपैयाँ बराबरको त्यसको प्रमोटर सेयर खरिद गरेको हुँ । त्यो मैले कसैको निगाहमा होइन, आफैंले बकाइदा सरकारलाई कर तिरेको वैध रकमबाट किनेको हुँ । त्यो सेयर मैले कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेका मेरा खाताहरूबाट रकम निकाली, त्यहीँका चेक प्रयोग गरी पारदर्शी ढंगबाट खरिद गरेको थिएँ । त्यो के–कसरी–कति कारणले अवैध भयो ? के मैले कुनै व्यावसायिक कारोबार नै गर्न पाउँदिनँ ?

५) व्यवसायी अजेय सुमार्गीले कुनै बेला मविरुद्ध ‘गोल्डेन सेयर’ लिने गरेको भनेर लगाएको निराधार आरोपलाई कोट्याउँदै रवि लामिछानेले ‘यो त्यस्तो सुनौलो सेयर हो, जुन ठूलो व्यवसाय सञ्चालन गर्दा कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई केही प्रतिशत नजरानाबापत दिनुपर्ने हुन्छ’ भन्दै आपत्तिजनक आक्षेप लगाउनुभएको रहेछ । पहिलो कुरा, सुमार्गीसँग त्यही विषयमा परेको मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतले हाम्रो पक्षमा फैसला गरिसकेको यथार्थ सार्वजनिक जानकारीमै छ । दोस्रो कुरा, के लामिछानेले मुखमा जे आयो त्यो बोलेझैं गरी मैले त्यस्तो तथाकथित ‘गोल्डेन सेयर’ कहीँकतैबाट लिएको प्रमाणित गर्न सक्नुहुन्छ ? म उहाँलाई चुनौती दिन चाहन्छु— म र मेरो परिवारका कुनै सदस्यले वैध स्रोतबिनाको, सरकारी कर नतिरेको रकमबाट कहीँकतै पनि एक कित्ता सेयर लिएको तपाईले देखाउन सक्नुहुन्छ ?

अनि उहाँले ‘कान्तिपुरलाई चलायो भने त मार्छ, ढाल्छ, सिध्याइदिन्छ’ भन्दै हाम्रोबारे अत्यन्त नकारात्मक प्रचारबाजी पनि गर्नुभएको छ । हामी कसैलाई ढाल्न होइन, लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासन स्थापित गर्न लड्दै आएका छौं । कान्तिपुर मिडिया हाउस लडेको सत्य हो— हिजो निरंकुश राजतन्त्रविरुद्ध जनआन्दोलनको मुखपत्र बनेर, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको हैकमविरुद्ध सुशासनको संवाहक बनेर तथा सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रवृत्तिविरुद्ध जेल जान पनि तयार भएर । हिजो कसैको हुँकारविरुद्ध नडराएको कान्तिपुर आज र भोलि पनि निर्धक्क भएर आफ्नो पेसागत जिम्मेवारीमा डटिरहनेछ ।

अन्त्यमा,

रवि लामिछानेले आफ्नोबारे अब समाचार लेखियो भने आफ्ना समर्थकहरू लिएर कान्तिपुर र अन्य मिडिया हाउसहरुका ‘कार्यालय घेर्न आउने’ र ‘आफ्नो ढंगले कारबाही गर्ने’ सार्वजनिक चेतावनी दिनुभएको छ । के यो स्वतन्त्र प्रेसमाथि खुला धम्की होइन ? के राज्यका निकायहरूले यसलाई प्रचलित कानुन हातमा लिने हर्कतका रूपमा उहाँमाथि कारबाही चलाउनुपर्दैन ? लामिछानेको धम्कीलाई हामीले उहाँको निजी धारणा मान्ने कि राष्ट्रिय स्वतन्त्र पार्टीकै आधिकारिक नीति ? के यसमा उक्त पार्टीका अन्य नेता र सांसदहरूले आफ्नो मत प्रस्ट पार्नुपर्दैन ? अन्यथा हामीले यसलाई उहाँहरूको पार्टीकै धारणा मान्नुपर्ने हुन्छ । म सबैको सार्वजनिक अभिलेखमा राख्न चाहन्छु— लामिछानेले धम्की दिएझैं हाम्रा कुनै पनि पत्रकार वा कर्मचारी अथवा कार्यालयमाथि कुनै पनि किसिमको भौतिक आक्रमण गरियो भने त्यसको जिम्मा उहाँ र उहाँकै पार्टीले लिनुपर्नेछ ।

कान्तिपुरले लेखेका समाचार नेपालको संविधान, कानुन र सर्वोच्च अदालतको संवैधानिक इजलासबाट स्थापित तथ्य हुन् । रवि लामिछानेले लगाएका आक्षेपका आधार के हुन् ? मैले त आफ्ना कुराहरू यहाँ प्रस्ट र पारदर्शी रूपमा पाठक र शुभेच्छुकहरूसमक्ष राखेको छु । के रवि लामिछानेले पनि नागरिकता, दोहोरो पासपोर्ट र दोहोरो राष्ट्रियतालाई लिएर आफूमाथि उठेका तमाम प्रश्नहरूको साँचो जवाफ दिन सक्नुहुन्छ ?

वि.सं.२०७९ माघ २४ मंगलवार १८:४२ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...