२५ चैत, भैरहवा । आगामी वैशाख ३१ गते हुने स्थानीय निर्वाचनको तयारी रुपन्देहीमा पनि अन्तिम चरणमा पुगेको छ ।
स्थानीय क्षेत्रमा निर्वाचन सम्बन्धित गतिविधि बढेको र निर्वाचन कार्यालयले आफ्ना काम चुस्त बनाएकोे जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कुल चार लाख ५८ हजार ६०६ मतदाता सङ्ख्या रहेको रुपन्देहीमा ३१ राजनीति दलले दल दर्ता गराएका छन् ।
एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा २०६ मतदानस्थल र ४५९ मतदान केन्द्र रहने समेत कार्यालयका प्रमुख हुमानाथ गौतमले राससलाई बताउनुभयो ।
एक उपमहानगरपालिका गरी जिल्लाभरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसङ्ख्यक गरी कुल ८४५ जनप्रतिनिधिले प्रतिनिधित्व गर्ने भएका छन् ।
जिल्ला अदालत न्यायाधीश मुरारीबाबु श्रेष्ठ मुख्य निर्वाचन अधिकृत रहनुभएको निर्वाचन केन्द्रमा कुल तीन हजार ६६९ कर्मचारी खटिएका छन् ।
स्थानीय निर्वाचनलाई लिएर अहिलेसम्म कुनै पनि समूहबाट प्रतिरोध नभएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिहंले बताउनुभएको छ ।
उहाँले निर्वाचन गराउनका लागि तयारी अवस्थामा रहेको र यहाँ सबै सुरक्षा निकायको समन्वयमा सुरक्षासम्बन्धी छलफल र अध्ययन भइरहेकाले पनि निर्वाचन सहजरुपमा सम्पन्न हुने दाबी गर्नुभयो ।