काठमाडौं । चालु आर्थिक वर्षको सात महिना नौ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा ९३ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ । जसअनुसार यो अवधिमा नेपालको वैदेशिक व्यापार घाटा आठ खर्ब २५ अर्ब बढीको छ ।
विभागले जनाएअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आयात र निर्यात दुवै घटेको छ । विभागले जनाएअनुसार अघिल्लो वर्षको यही अवधिमा ११ खर्ब ४७ अर्ब रुपैयाँ बढीको आयात भएको थियो भने एक खर्ब ३१ अर्ब रुपैयाँ बढीको निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सबैभन्दा बढी व्यापार भारतसँग भएको छ । भारतसँगको व्यापारमा पाँच खर्बभन्दा बढीको घाटा नेपालको छ । यो अवधिमा भारतबाट पाँच खर्ब ७० अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालबाट ६६ अर्ब २२ करोड बराबरको मात्रै निर्यात भएको छ ।
यसैगरी, यो अवधिमा चीनतर्फको व्यापार घाटा एक खर्ब २४ अर्ब बढीको छ । यो अवधिमा चीनबाट एक खर्ब २५ अर्ब बढीको वस्तु तथा सेवा आयात भएको छ भने चीनतर्फ ४२ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
वैदेशिक व्यापारमा सबैभन्दा धेरै कारोबार हुनेमा भारत र चीनपछि इण्डोनेसिया, युएई, अर्जेटिना, मलेसिया, युक्रेन, कतार, अष्ट्रेलियालगायतका देश छन् । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा युद्धले आक्रान्त देश युक्रेनबाट पनि १० अर्ब रुपैयाँ बढीको वस्तु तथा सेवाको आयात भएको छ ।
चालु आर्थिक वर्षको सात महिनाको अवधिमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा एक खर्ब ९४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । पेट्रोेलियम पदार्थपछि सबैभन्दा धेरै फलाम र स्टीलको आयात भएको छ । यो अवधिमा ७६ अर्ब रुपैयाँ बढीको फलाम तथा स्टीलको आयात भएको छ ।
यसैगरी यो अवधिमा इलेक्ट्रोनिक मेसिनरी सामाग्री ५८ अर्ब बढीको आयात भएको छ भने खाद्य तेल तथा घ्यूको आयात ५७ अर्ब बढीको छ ।
वि.सं.२०७९ फागुन १० बुधवार १४:५७ मा प्रकाशित






























