
काठमाडौं । सरकारद्वारा राजपत्रमा प्रकाशित सहिदको सूचीमा रामेछापका नेता रमेश ढुङेलको नाम सुनियोजित तवरले नराखिएको भन्दै माओवादी पत्रकार केदार गौतमले सङ्गठित प्रतिरोधको चेतावनी दिएका छन् ।
पत्रकार गौतमले सूची प्रकाशनको स्वागत गर्दै गम्भीर आपत्ति, विरोध, विमति र विनम्र अनुरोध समेत अभिब्यक्त गरेका छन् ।
उनले भनेका छन, ‘जनयुद्धको सिलसिलामा राज्य र विद्रोही दुवै पक्षबाट मारिएका दुवै पक्षका मान्छेहरूलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ, यो काम सर्वथा स्वागतयोग्य छ । तर, यो नामावलीप्रति मेरो गम्भीर आपत्ति, विरोध र विमति छ किनकी जनयुद्धमा बहादुरीपूर्वक लड्दालड्दै ज्यान गुमाएका रामेछापका कमरेड रमेश ढुंगेल ‘साहस’ को नाम यो सूचीमा समेत बडो बेइमानीपूर्वक छुटाइएको छ । यो दुष्कर्म घोर आपत्तिजनक छ । यसलाई तत्काल सच्याइयोस्, यदि सच्याइँदैन भने यसको संगठित प्रतिरोध गरिने छ, त्यस प्रतिरोधको नेतृत्व मसहित रामेछापका माओवादीको पहिलो पुस्ताका युवाहरूले गर्ने व्यहोरा सम्बन्धित सवैमा अवगत गराउँदछु ।’