
काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले यो गठबन्धन आगामी पाँचवर्ष टिक्ने बताएका छन् ।
सोमबार प्रधानमन्त्री प्रचण्डले संसदबाट दोस्रोपटक विश्वासको मत माग्ने क्रममा अध्यक्ष नेपालले अहिलेको १० दलीय गठबन्धन आगामी पाँचवर्षसम्म टिक्ने र प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने अवस्था नआउने बताएका छन् ।
‘अब फेरि बैशाखमा अर्को विश्वासको मत लिने अवस्था त आउँदैन भन्ने कुरा उठिरहेको छ । यो आशंका अस्वभाविक ठान्दिनँ । तर त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ,’ अध्यक्ष नेपालले भने,’ ‘अब यो गठबन्धन आउने पाँचवर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ । देशलाई विकासको बाटोमा अगाडि बढाउँछ । राष्ट्रका सामु रहेका सबै चुनौती सामना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्छ । यस कुरामा विश्वस्त हुन सबैलाई आव्हान गर्न चाहान्छु ।’
अध्यक्ष नेपालले आफुले पनि तत्कालीन समयमा २१ म्हिनासम्म २२ वटा पार्टीलाई साथमा लिएर कुनै किसीमको बाधा बिना अगाडि बढाएको बताउँदै अहिले जुन–जुन घटकसँग सहकार्य गरिएको छ सर्बैको सोँच र दृष्टिकोण हेर्दा यो गठबन्धन टिकाउ हुने बताए ।