
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली श्रमिकका लागि आजदेखि निःशुल्क स्वास्थ परामर्श सेवा दिने भएको छ ।
बैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार आजदेखि बैदेशिक रोजगारमा गएका श्रमिक कामदारलाई लक्षित गरी टेलिमेडिसिन सेवा संचालनमा ल्याइएको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको २०७९/११\०२ मा टेलिमेडिसिन सेवा संचालन कार्यविधि २०७९ स्वीकृत गरेसँगै नेपाली श्रमिकको समस्या समाधानका लागि आवस्यकता अनुसार समयमा सल्लाह सुझाव र परामर्श सेवा उपलव्ध गराउन लागेको जनाइएको छ ।
कसरी लिने त यो सेवा ?
बोर्डका अनुसार आजदेखि सुरु भएको उक्त सेवा बिहान १० बजेबाट सुरु हुनेछ । सार्वजनिक विदाका दिन बाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह हुनेछ । यसका लागि विदेशमा रहेका श्रमिकहरुले ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइवर, ह्वाटसएप वा इमो लगायतका सामाजिक संजालबाट फोन गर्न सक्नेछन् ।
श्रमिकहरुले गरेको उक्त कल टेलिमेडिसिन मेडिकल अधिकृतले प्राप्त गरेपछि कुनैपनि स्वास्थ्य सम्बन्धी समस्या रहेका कामदारहरुलाई विशेषज्ञ सेवा आवस्यक परेमा हरेक आइतबार र शुक्रबार सेवा दिइनेछ ।
विशेष गरी नेपाली कामदारको गन्तव्य मुलुकमा आइतबार र शुक्रबार सार्वजनिक विदा हुने भएकाले सो दिनमा विशेषज्ञ सेवा उपलब्ध गराइने जनाइएको छ ।