काठमाडौं । गैरआवासीय नेपाली संघको महिला विभाग अन्तर्गतको महिला स्वास्थ्य तथा शिक्षा कार्यदलले ‘मध्यपूर्व क्षेत्रीय स्वास्थ्य सचेतना र सल्लाह कार्यक्रम’ जुममार्फत सम्पन्न गरेको छ ।
यस कार्यक्रममा स्वास्थ्य विज्ञहरुले पछिल्लो समय स्वास्थ्य समस्या र त्यसका कारण आत्महत्याजस्ता गम्भीर घटनाहरु बढीरहेकोमा चिन्ता व्यक्त गर्दै ती समस्या सम्बोधनका लागि गम्भीर भएरअघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमा स्वास्थ्य विज्ञहरु डा नितेश अर्याल, डा सुमित्रा पाठक, डा निशिता पाठक लगायतका स्वास्थ्य विज्ञहरुले नेपालसहित मध्यपूर्वीय साथै विश्वका विभिन्न क्षेत्रमा देखा परेका स्वास्थ्य समस्याका साथै मानसिक स्वास्थ्यका बारेमा अध्ययनपत्र प्रस्तुत गर्दै नेपालसहित विदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याको जोखिमको क्रम बढ्दो रुपमा रहेकोप्रति सचेत गराए । उनीहरुले नेपालमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीमा पनि मानसिक स्वास्थ्य समस्या विकराल बन्दैगएको भन्दै उक्त स्वास्थ्य जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्ने विज्ञहरुले मनोपरामर्श, खानपान र शारीरिक व्यायाम, योग, ध्यान लगायतका गतिविधिमाध्यान दिन प्रोत्साहन गर्नसके समस्या केहीहदसम्म समाधान हुने बताए ।
विज्ञहरुले महिलाहरुको स्वास्थ्य समस्याका बारेमा प्रस्तुती गर्दै अनुसार पछिल्लो समय महिलाको पाठेघरभित्र र पाठेघरको मुखको क्यान्सर, अण्डाशयको क्यान्सर बढ्दो क्रममा रहेको बताए । यस बारेमा जनचेतनाको अभावले गर्दा कयौं महिलाको ज्यान जाने गरेको कारण त्यस सम्बन्धमा व्यापक जनचेतनाका फैल्याउनुका साथै सरकार र सरोकारवालासँगको समन्वयमा र योजनाबनाएर अघि बढ्नुपर्नेमा जोड दिए । साथै मध्यपूर्व क्षेत्रका साथै अन्य क्षेत्रमा समस्या रुपमा रहेको क्षय रोगबारे जानकारी दिदै त्यसको न्युनीकरणमा पहल भएका गतिविधिहरु बारे प्रकाश पारिएको थियो ।
कार्यक्रममा संघका कार्यकारी अध्यक्ष डा बद्री केसी, उपाध्यक्षहरु आर के शर्मा, रोबिन्द श्रेष्ठ,यास्मिन बेगम सैयद,उपमहासचिव राम शरण सिम्खडा, महिला सचिब राधिका गुरुङ, सहकोषाध्यक्षहरु अमृता थापा र यमुना भट्टराई, पूर्व महिला संयोजक रजनि प्रधान, एनसीसी अष्ट्रीया अध्यक्ष भवानी तिवारी, एनसीसी साउदी अरबिया अध्यक्ष डमर यादव लगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रम संयोजक डा.एलिनी पोखरेल सुवेदीले कार्यक्रममा सभापतित्व गर्दै विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुलाई नै स्वास्थ्यबारे जानकारी दिने उद्देश्यले यो कार्यक्रमको थालनी गरिएको र भर्चुअल माध्यमबाट समितिले नेपालीहरुमा बढ्दै गएको स्वास्थ्य समस्या, आत्महत्या र अन्य विविध कारणले हुने बढ्दो क्रममा रहेको मृत्युदर लगायतको विषयमा ‘हेल्थ फर नेपलिज बाइ एनआरएनए’ परियोजना मार्फत आफ्ना कार्यहरु अगाडी बढाइहेको बताए ।
कार्यक्रममा डा. एलिजा केसी भन्डारीले स्वागत मन्तब्य राख्दै स्वास्थ्य सचेतना कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा टास्कफोर्स तर्फबाट महिला उपाध्यक्ष यास्मिन बेगम शैयद तथा डा. सरिता पाण्डेले कार्यक्रममा प्रस्तुति दिनुहुने बिशेषज्ञहरूलाइ प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न गैरआवासीय नेपाली अभियन्ता तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो।
वि.सं.२०८० वैशाख ५ मंगलवार १२:२५ मा प्रकाशित




























