काठमाडौं । तनहुँ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनको मतदानको परिणाम आउने क्रम जारी छ ।
हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अर्थविद् डा. स्वर्णिम वाग्लेले भारी मतसहित अग्रता कायम गरिरहेका छन् ।
उनले हालसम्मको मत गणना अनुसार ८ हजार ८३७ मतसहित दोब्बर मतसहित अग्रता कायम गरिरहँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार ६५ मत ल्याएर पछ्याइरहेका छन् । डा. वाग्ले भट्टराई भन्दा दोब्बर मतले अगाडि रहेका छन् ।
त्यसैगरी नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले २ हजार ४०२ मत ल्याएर तेस्रो बनिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले २५ मत प्राप्त गरेकी छन् ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तनहुँ १२ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा आइतबार निर्वाचन भएको हो ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जसमा आवुखैरनी लगायतका ८ वडाको मतगणना सकिएको छ ।
त्यसैगरी बारामा क्षेत्र नम्बर २ मा पनि केही बेरमा मतगणना सुरु हुने बताइएको छ ।
आज बिहान बसेको सर्वदलीय बैठकले त्यहाँ मतणना सुरु गर्ने निर्णय गरेको हो । बारा क्षेत्र नं २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेको नेता पुरुषोत्तम पौडेल, जनमत पार्टीबाट शिवचन्द्र कुशहवा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार रहेका छन् ।
त्यसैगरी चितवनमा भने सर्वदलीय बैठक बस्न नसक्दा मतगणना हुन सकेको छैन । चितवन क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जीवलाल पुरी उम्मेदवार रहेका छन् ।
आइतबार सम्पन्न भएको निर्वाचनमा रास्वपाका उम्मेदवार लामिछानले निर्वाचन आचारसंहिता विपरित गएर गतिबिधि गरेको र त्यसलाई प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सहयोग गरेको आरोप लगाउँदै भन्दै कांग्रेसका उम्मेदवार श्रेष्ठले उजुरी दिएका थिए । उक्त उजुरीको निर्णय नभएसम्म मतगणना हुन नदिने बताएपछि त्यहा मतगणना रोकिएको हो ।
वि.सं.२०८० वैशाख ११ सोमवार १०:१८ मा प्रकाशित






























