काठमाडौं । राष्ट्रपति कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारलाई लिएर दुष्प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
पेट र छातिमा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लगिएका राष्ट्रपतिका विषयमा केही संचारमाध्यम तथा सामाजिक संजालमा भ्रामक सूचना र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको समेत कार्यालयले जनाएको छ ।
‘सम्माननीय राष्ट्रपतिको नेपालमै उपचार गर्ने चाहना हुँदाहुँदै पनि चिकित्सकहरुको टोली तथा सम्माननीय प्रधानमन्त्री र उच्च राजनीतिक नेतृत्वको विशेष आग्रहमा उहाँ भारतमा उपचारका लागि जान तयार हुनु भएको हो । यो कुरा सम्माननीय प्रधामन्त्रीले सार्वजनिक कार्यक्रममा नै बताइसक्नु भएको यर्थाथलाई स्मरण गराउन चाहान्छौं ।’ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०८० वैशाख १३ बुधवार २०:५७ मा प्रकाशित






























