काठमाडाैं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पाण्डेलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन् ।
कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गरेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । विश्वासको मत गुमाउँदै एमाले नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो । मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कांग्रेसका २७, माओवादीका सात र एकीकृत समाजवादी एक जनाकाे समर्थन पाण्डेकाे पक्षमा छ । उनले दाबी पेश गर्दा तीन पार्टीका ३५ सांसदकाे हस्ताक्षर बुझाएका छन् । जुन बहुमतभन्दा बढी हाे । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ ।
यसअघि पुस २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारी माओवादी र राप्रपाको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा सत्ता समिकरण फेरिएसँगै प्रदेशमा पनि गठबन्धन भत्किएकाे थियाे । माओवादी बाहिरीएपछि अधिकारी नेतृत्वकाे सरकार अल्पमतमा परेको थियो ।
अधिकारीले वैशाख ९ मा विश्वासको मत लिन संसदमा प्रस्ताव राखेका थिए । तर, उक्त प्रस्ताव असफल भएकाे थियाे ।
वि.सं.२०८० वैशाख १४ बिहीवार १६:३३ मा प्रकाशित






























