काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले जेठ ४ गतेदेखि ‘नेपाल चेम्बर एक्सपो–२०२३’ आयोजना गर्ने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा जेठ ८ गतेसम्म प्रदर्शनी चल्ने छ ।
विगतका राजनीतिक उपलब्धिहरुलाई आत्मसात गर्दै नेपाल अब आर्थिक समृद्धितर्फ उन्मूख हुँदै गइरहेको परिपेक्षमा राष्ट्रको सर्वाङ्गिण विकासका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य देखिएकाले यो प्रदर्शनी आयोजना गर्न लागिएको चेम्बरले जनाएको छ ।
देशको समग्र विकास, निजी क्षेत्रको सशक्तीकरणबाट मात्र सम्भव हुने मूलमन्त्र लिई आयोजना गर्न लागिएको प्रदर्शन निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासँग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्देश्य हो । पछिल्ला पाँच संस्करणहरुको सफलतापूर्वक आयोजना गरिसकेपछि चेम्बरले मेलाको छैटौँ संस्करणमा व्यापारिक अन्तरक्रिया आयात/निर्यातको सूचना आदान÷प्रदान तथा नेपाली उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ ।
मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्न नेपाली उद्योगी, व्यवसायीलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिनेछ । निकासी अभिवृद्धि गर्ने उद्देश्य लिई चेम्बरले यस प्रदर्शनीमार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमीसमेत गर्ने उद्देश्य राखेको छ ।
मेलामा १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ । जसमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा उद्योगी र व्यवसायीको सहभागिता रहनेछ । नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्री एक्स्पोमा रहनेछन् र धमाधम स्टलहरु बुकिङ भइरहने क्रम जारी छ ।
वि.सं.२०८० वैशाख २२ शुक्रवार ०८:५३ मा प्रकाशित






























