
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निलम्बित सांसद ढाका कुमार श्रेष्ठले सांसद बन्नका लागि आफुले ३ करोड बुझाएको भन्ने समाचार कपोकल्पित र आधारहिन भएको बताएका छन् ।
विभिन्न संचारमाध्यममा ढाका कुमारले समानुपातिक सांसद बन्नका लागि सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल र प्रवक्ता मुकुल ढकाललाई ३ करोड बुझाएको भन्ने समाचार आएपछि उनले विज्ञप्ति मार्फत् यसको खण्डन गरेका हुन् ।
‘मिति २०८०/२/१० गते केही अनलाइन मिडियाहरुले समानुपातिका सांसद बन्न मैले तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित तथा आधारहीन समाचार संप्रेषण गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ,‘ उक्त विषयमा म कुनै मिडियाहरुसँग नबोलेको र समाचार संप्रेषणका लागि अनुरोध समेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु ।’आधारविना नै अन्य कुनै मिडियाहरुले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार संप्रेषण गरेमा कानुनी प्रक्रियामा जाने चेतावनी समेत उनले दिएका छन् ।