काठमाडाैं । मन्त्रिपरिषद् बैठकले टीकापुर हत्याकाण्डको मुद्दामा जन्मकैद पाएका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदी बन्दीको सजाय माफ दिने गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट सजाय माफ हुने संवैधानिक व्यवस्था छ । संविधानकाे धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।
यसअघि जेठ १२ मा कैद माफीका लागि गृह मन्त्रालयमार्फत पुगेकाे पत्रमा राष्ट्रपति रामचन्द्र पौडेलले केही प्रश्न गर्दै प्रष्टताका लागि फिर्ता पठाएका थिए। ‘प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न’ राष्ट्रपति कार्यालयले जवाफ दिएकाे थियाे । गृहले चौधरीबारे मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि आममाफीका लागि मन्त्रिपरिषदले सिफारिस गरेको हो।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरीसहित १ जना दूधे बालकको ज्यान गएको थियो।घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।
सो घटनामा मुख्य दाेषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले चाैधरीलाई जन्मकैदको सजाय सुनाएकाे थियाे । गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो।
वि.सं.२०८० जेठ १४ आइतवार १२:३८ मा प्रकाशित






























