back
CTIZAN AD

आफ्नै बोलीले फेरि फसादमा प्रचण्ड

वि.सं.२०८० असार २० बुधवार

855 

shares

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि एकपटक विवादको घेरामा तानिएका छन् । एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले उनी विवादमा तानिएका हुन् ।

प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय मुलका एक व्यापारी ‘प्रितम सिंह’ले निकै मेहनत गरेको बताएका थिए । प्रचण्डले बताएअनुसार उनलाई प्रधानमन्त्री बनाउनकै निम्ति सिंहले धेरै पटक दिल्लीका नेताहरुसँग पनि भेटघाट गरेका थिए ।

“उहाँ (प्रितम सिंह)ले एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनेत गर्नुभयो । धेरै चोटी दिल्ली पनि जानु भयो । काठमाडौंका पार्टीहरु, नेताहरुसँग लगातार छलफल गर्नुभयो”, प्रचण्डले भनेका छन्, “राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ, म शान्ति प्रक्रियामा आएदेखि नै धेरै नजिकबाट चिन्ने, बुझ्ने र महसुस गर्ने पनि गर्‍यौं ।”

नेपालको राजनीतिमा भारतीय पक्षको प्रभाव हुने गरेको चर्चा भइरहँदा स्वयम् प्रधानमन्त्रीकै तहबाट आएको यो अभिव्यक्तिले धेरै कुरा उजागर गरेको छ । जसले नेपालको राजनीतिमा बाह्य प्रभाव बाक्लिँदो रहेको पनि देखाउँछ ।

राष्ट्रियता र जनजीविकाकै नारा दिएर राजनीतिमा छाएका प्रचण्डको अभिव्यक्ति सामान्य खालको छैन । जुन अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध पनि भइरहेको छ । कतिपयले प्रधानमन्त्रीको अभिव्यक्तिले संवैधानिक दायरा नै नाघेको समेत टिप्पणी गरेका छन् । प्रधानमन्त्री चयनको विषय संविधानले निर्दिष्ट गरेको व्यवस्थाभित्र हुने भएपनि प्रचण्डको अभिव्यक्तिले बाह्य विषय पनि रहेको देखाउँछ ।

सधैंँ बाेलिकै कारण समस्या

प्रचण्ड यसअघि पनि अहिलेको जस्तै विवादित अभिव्यक्तिकै कारण समस्यामा फसेका छन् । प्रचण्डले २०७६ माघ १ मा टुँडिखेमा तत्कालिन युद्धकालिन घटनालाई लिएर दिएको अभिव्यक्ति निकै विवादमा तानियो । उनले दिएको अभिव्यक्तिलाई नै लिएर सर्वोच्च अदालतमा रिटसमेत दायर भयो ।

“मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको, यो सत्य होइन, हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन्, मलाई ५ हजारको म जिम्मा दिनुहुन्छ भने म लिन्छु”, उनले भनेका थिए ।

प्रचण्डले तत्कालिन लडाकु शिविरबारे बोलेको अभिव्यक्ति पनि हालसम्म समेत विवादमा छ । उनी आफैंले जनमुक्ति सेना सात–आठ हजार भएको तर, ३१ हजार देखाएर प्रमाणीकरण गरिएको बताएका थिए । जुन अभिव्यक्तिकै आधारमा माओवादी नेतृत्वमाथि भ्रष्टाचारको आरोप लाग्दै आएको छ ।

प्रमुख प्रतिपक्षीको आपत्ति

प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमालेले उक्त विषयलाई लिएर संसदमा राजीनामा समेत माग गरेकाे छ । बुधबार बसेकाे संसद बैठकमा एमालेले प्रधानमन्त्रीकाे राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लियाे ।  एमालेकाे अवराेधपछि बुधबारकाे संसद बैठकसमेत अवरूद्ध भयाे ।

“प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्न हुँदैन, उहाँले राजीनामा गर्नुपर्छ”, संसद बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले भनेका छन् ।

उनले प्रधानमन्त्री प्रचण्डलाई ‘लेण्डुप दोर्जेको नेपाली संस्करण’ हुन खोजेको आरोप लगाए । “नेपाली जनतालाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो, राष्ट्रियताको पक्षमा अडान लिनसक्ने प्रधानमन्त्री चाहिएको हो, लेण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन”, उनले भने ।

एमालेले यो विषयलाई निकै गम्भीररुपमा अगाडि सार्ने तयारी गरेको छ । एमालेको यो कदमले राजनीतिमा थप अर्को सकसको उदय भएको देखाउँछ । Updated News…

वि.सं.२०८० असार २० बुधवार १२:४२ मा प्रकाशित