काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरदार प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउन दिल्ली पुगेको भन्ने कुरा भावुक भएर बोलेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलले मागेको स्पष्टीकरणको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको बारेमा लेखिएको पुस्तक बिमोचनका क्रममा आफ्ले प्रधानमन्त्रीको हैसियतमा नभई पारिवारीक सम्बन्धका कारण छोरी ज्ञानुको बुवा भएर भावुकतामा बोलेको बताएका छन् ।
सोहि विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले राजीनामो र अन्य प्रतिपक्षी दलले स्पष्टीकरण मागिरहेको विषयमा आज संसदमा जवाफ दिँदै दिल्लीको अस्पतालमा छोरीको उपचार गराउन गएका बेला प्रितम सिंहको परिवारसँग भएको सम्बन्धका कारण पुस्तक बिमोचनका क्रममा प्रितम सिंहको सदासयतालाई धन्यवाद दिएको बताए ।
‘हिँजो क्रान्तिकालमा राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको निम्ति लडाई लडेको वर्षौसम्म यत्तिले सकियो ? नाकाबन्दी हुँदा मैले लिएको अडान र गरेको संघर्ष सबै प्रतिपक्षको नेताहरुलाई राम्रोसँग थाहा छ । मेरो एउटा भावनात्मक अभिव्यक्तिले त्यो सबै सिद्धियो त ?,’ जवाफ दिँदै प्रचण्डले भने ।
प्रचण्डले आफ्ना बेला बोलका बोलीहरु अदालतसम्म पुगेको हेक्का रहेको बताउँदै भने– हृदय छामेर इमान्दारिताका साथ भन्यो भने के प्रचण्डले षडयन्त्र गरेर भनेको हो त ती शब्दहरु ? ती हजार, पाँच हजार सत्र हजार, कुन प्रसंगमा के को निम्ति भने भन्ने कुरा हामीले हेक्का राख्नुपर्ने हो कि होइन ? यो मेरो प्रश्न मात्रै हो । कुनै न कुनै समयमा कुनै न कुनै कमजोरीबाट हामी सबै मुक्त त छैनौं होला । म कसैलाई दोषारोपण गर्न चाहान्न मेरो स्पष्टीकरण दिन यहाँ उभिएको छु । ’
वि.सं.२०८० असार २५ सोमवार १७:०५ मा प्रकाशित






























