काठमाडाैं । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् नेकपा (एमाले)का नेता विजयबहादुर यादव पक्राउ परेका छन् । यादवलाई बाँके प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेकाे हाे ।
माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि एमाले नेतासमेत रहेका यादवमाथि मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
यादव २०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रहेका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उनलाई कारबाही गरेको थियो ।
जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए । तर, उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।
वि.सं.२०८० साउन १ सोमवार १२:२४ मा प्रकाशित






























