काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर तर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ ।
त्यसैले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसैगरी, राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०८० साउन १५ सोमवार ०७:३३ मा प्रकाशित






























