back
CTIZAN AD

वर्षौँदेखि अन्धकारमा बस्दै आएका स्थानीयलाई नगरपालिकाद्वारा सोलार बत्ती वितरण

वि.सं.२०८० साउन २१ आइतवार

837 

shares

ढोरपाटन । ढोरपाटन नगरपालिका-९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन् । उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन्। वर्षौँदेखि अन्धकारमा जीवन बिताउँदै आएकी भण्डारीको घर आजभोलि उज्यालो बनेको छ । उनले भनिन्, “गाउँ अहिलेसम्म अन्धकारमा थियो, नगरपालिकाले सोलार बत्ती वितरण गरेपछि अहिले जताततै उज्यालो भएको छ ।”

ढोरपाटन नगरपालिकाले विद्युत्को पहुँचभन्दा टाढा रहेका गाउँमा सोलार बत्ती वितरण गरेपछि छ्यान्तुङ गाउँ उज्यालो बनेको हो । जिल्लाकै सबैभन्दा दुर्गम गाउँ मानिने ढोरपाटन -९ छ्यान्तुङमा अहिलेसम्म विद्युत्को पहुँच पुगेको छैन ।

विद्युतको पहुँच नहुँदा भण्डारीसहित यस गाउँका सयौँ नागरिक अन्धकारमा बस्दै आएका थिए । आफ्नो जीवनकाल टुकी र दियालो बालेरै बितेको भन्दै सोलार बत्ती पाएपछि खुसी हुँदै अब अँध्यारो घर उज्यालो हुन थालेको भण्डारीले बताइन् । आफूहरू सहरबजारभन्दा धेरै टाढा हुँदा अहिलेसम्म बिजुली बत्ती पाल्न नपाएको गुनासो पोख्दै सोलार बत्ती मट्टितेल किन्ने खर्च घट्ने र दियालो जम्मा गर्ने झन्झट कम हुने उनले बताइन्।

उनले भनिन् “अहिलेसम्म कसैले पनि हामीलाई सहयोग गरेको थिएन, यस्तो अँध्यारोमा बसेको धेरैले देखेका थिए, अब घर उज्यालो हुने भयो, बल्ल सरकार आएको अनुभूति भयो, अँध्यारोमा बस्दा कति कष्ट हुन्छ, पहिलेको जस्ते मट्टितेल पनि अहिले अलि कम पाइन्छ, अब मट्टितेल किन्न र दियालो भाङ जम्मा गरेर महिनौँ बिताउनुपर्ने छैन ।”

बागलुङको ढोरपाटन-९ छ्यान्तुङ र वडा नं ६ लामखोरियालगायत थुप्रै गाउँका स्थानीय अहिले पनि टुकी र दियालोको भरमा रात बिताउँछन् । भौगोलिक विकटताका कारण यहाँ स्थानीय जलविद्युत् तथा केन्द्रीय लाइनको पहुँच पुग्न सकेको छैन । वर्षौँदेखि अन्धकारमा बस्दै आएका स्थानीयलाई ढोरपाटन नगरपालिकाले सोलार बत्ती वितरण गरेको छ । सोलार बत्ती पाएपछि स्थानीयमा खुसी छाएको छ ।

नगरपालिकाले हालसम्म पनि विद्युत्को पहुँच नपुगेका दुर्गम गाउँ छ्यान्तुङ र लामखोरियाका ८० परिवारलाई सोलार वितरण गरिएको नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले बताए। नगरप्रमुखको कोषबाट विपन्न परिवारलाई राहतस्वरुप सोलार वितरण गरिएको उनी बताउँछन् । ढोरपाटन नगरपालिकाको दुर्गम क्षेत्र अझैसम्म पनि विद्युत नभएर अँध्यारोमा जीविका चलाउँदै आएका विपन्न परिवारको समस्यालाई ध्यानमा राखी सोलार बत्ती वितरण गरिएको कायतको भनाइ छ ।

विद्युतकै कारण सहज सञ्चारको पहुँचबाटसमेत टाढा रहेका स्थानीयको समस्या समाधान गर्न केन्द्रीय प्रसारण लाइन विस्तारको कामसमेत हुन थालेको उनले बताए। विद्युतको सेवाबाट टाढा रहेका नगरपालिकाका अन्य दुर्गम ठाउँसमेत विद्युत् पुर्याउने र केही समयभित्र बाँकी रहेका ठाउँमा सोलार बत्ती वितरण गर्ने उनको भनाइ छ ।

नगरप्रमुख कायतले भने, “अहिले तत्कालको समस्या समाधानका लागि सोलार बत्ती वितरण गर्यौँ, अब छिट्टै यो ठाउँमा केन्द्रीय प्रसारण लाइन ल्याउनका लागि पहल गर्छौँ, ढोरपाटनमा केन्द्रीय लाइन ल्याउने काम हुन थालेको छ, त्यहाँ आउनासाथ यी गाउँमा जडान गर्ने छौँ ।”

लामखोरियाका स्थानीय राममाया विकले अब आफ्ना बालबालिकाले सोलार बालेर पढ्न पाउने भन्दै खुसी व्यक्त गरिन्। गाउँमा धेरै स्कुले बालबालिका रहेको भन्दै उनीहरूले अहिलेसम्म टुकीकै भरमा पढ्दै आएको विकले बताइन्। हातमा मोबाइल भए पनि चार्ज गर्नका लागि टाढा जानुपर्ने बाध्यता रहेको उनले गुनासो पोखिन्।

“गाउँभरि स्कुल पढ्ने केटाकेटी छन्, अँध्यारो भयो भने सुतिहाल्छन्, बिजुली नहुँदा पढ्न पाएका छैनन्, नगरपालिकाले सोलार दिएपछि राति पनि पढ्न पाइने भयो भनेर धेरै खुसी भएका छन्, हामीलाई पनि धेरै खुसी लागेको छ”, उनले भनिन्। “गाउँमा बिजुली ल्याउने कुरा चलेको धेरै पहिले हो अहिलेसम्म के भयो थाहा छैन, बिजुली आए त हाम्रो वर्षौँदेखिको मुख्य समस्या समाधान हुने थियो ।”

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले छ्यान्तुङ, लामखोरियालगायत अहिलेसम्म विद्युत्को पहुँच नपुगेका स्थानमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । आगामी दुई वर्षभित्रसम्म जिल्लाका सबै स्थानमा केन्द्रीय लाइन पुर्याउने गरी काम गरिरहेको प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले जानकारी दिए। ढोरपाटनमा केन्द्रीय लाइन विस्तारका लागि काम सुरु भइरहेको उनको भनाइ छ ।
रासस/फाइल फोटो

वि.सं.२०८० साउन २१ आइतवार ११:३१ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...