Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

सम्भव छ त माओवादीभित्र ‘टिका प्रथा’को अन्त्य ?



काठमाडौं । माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका नेता जनार्दन शर्माले पार्टीभित्रको सांगठनिक संरचनामा ‘र्‍याडिकल’ परिवर्तन हुँदै गरेको कुरा खुलाएका छन् । पार्टीभित्र टिका लगाएर नेता हुने परम्परा अब नरहने उनको भनाई छ ।

“मूल्यांकन माथिका नेताले गरेर हुँदैन, अब तलकाले मूल्यांकन गरेर नेता चुन्ने विधि बसालिन्छ, अब टिका लगाएर कोही नेता चुनिने छैनन्”, पार्टीको सहायक संगठन वाइसिएयल नेपालको एक कार्यक्रमलाई सम्बोधन क्रममा उनले भनेका छन्, “अब माओवादीभित्र सांगठनिक हिसाबले र्‍याडिकल परिवर्तन हुँदैछ ।”

पार्टीको संगठन विभागको जिम्मेवारीमा रहेका शर्मा माओवादीभित्र बेग्लै धार बनाउँदै गरेका पात्र पनि हुन् । पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौति दिने नेताका रुपमा उभिएको अन्यको बुझाई छ । पार्टी अध्यक्षले चयन गरेको पार्टी उपसचिव पदलाई समेत उनले सार्वजनिकरुपमै अस्वीकार गरिदिएका थिए ।

शर्माको पछिल्लो अभिव्यक्तिलाई सामान्य रुपमा लिन मिल्दैन । विधान महाधिवेशनको चर्चाका बीच माओवादीभित्र क्रमशः ‘टिका प्रथा’को अन्त्य हुने सम्भावनालाई समेत उजागर गर्दछ ।

सधैँ नाम मात्रैको महाधिवेशन

माओवादी केन्द्रको आठौं महाधिवेशन (२०७८, पुस)को चरणमा नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट गरिनुपर्ने माग जबरजस्त उठेको थियो । थुप्रै महाधिवेशन प्रतिनिधिले पार्टीको सबै सांगठनिक संरचनाको नेतृत्व निर्वाचन प्रक्रियाबाटै टुंग्याउनुपर्ने माग राखेका थिए । तत्कालिन समय विशेषगरी पार्टी महासचिव को बन्ने ? भन्ने सन्दर्भमा नेताहरुबीच पेचिलो विवाद सतहमा देखिन्थ्यो । पार्टी महासचिवमा थुप्रै आकांक्षी भइरहँदा विवाद समाधानको निम्ति पनि चुनावी प्रतिस्पर्धालाई सहज उपायको रुपमा समेत हेरिएको थियो ।

तर, प्रतिनिधिले माग राखेबमोजिम महाधिवेशनमा उक्त विषयले प्राथमिकता पाउन सकेन । पार्टी अध्यक्षमा स्वयम् पुष्पकमल दाहाल प्रचण्डले आफैंलाई ‘टिका लगाएर’ चयन गरे भने अन्य पदाधिकारी मण्डल आठ दिनसम्म चलेको महाधिवेशनले चयन गर्न सकेन । तत्कालिन समय विरोधबाट जोगिन प्रचण्डले अपुरो केन्द्रीय समिति मात्रै घोषणा गराएका थिए ।

२०७८ पुसमा पार्टी महाधिवेशन गरेको माओवादी केन्द्रले नौ महिनापछि ०७९ भदौमा बल्ल अन्य पदाधिकारी टुंग्याएको थियो । प्रचण्डले स्थायी समितिको बैठकमार्फत देव गुरुङलाई महासचिवको टिका लगाइदिएका थिए भने अन्य पदाधिकारीको नाम पनि उनी आफैंले पढेर सुनाएका थिए ।

०७९ असार १९ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकको आधारमा प्रचण्डले भदौ १ मा बसेको पूर्व स्थायी समिति बैठकमार्फत ४३ सदस्यीय स्थायी समिति, १२५ सदस्यीय पोलिटब्यूरो, २६ सदस्यीय वैकल्पिक पोलिटब्यूरो र ३४१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय गराएका थिए ।

योबीचमा माओवादीमा थुप्रै पटक थपघट हुँदै केन्द्रीय समितिको आकार ४०९ सदस्यीय पुगेको छ भने अन्य सांगठनिक संरचनाबारे पनि अन्योल देखिएपछि पटक–पटक विधान संशोधन पनि भएको छ । यही साउन १८ देखि २१ सम्म बसेको केन्द्रीय समितिको चौथो पूर्णं बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो ।

आठौं महाधिवेशनदेखि हालसम्मको सन्दर्भमा मात्रै होइन माओवादीले यसअघिका महाधिवेशन वा सम्मेलनमा कहिँ पनि चुनावी पद्धतिलाई स्वीकार गरेको देखिन्न । जनयुद्धकालदेखि हालसम्म माओवादीले दुई वटा मात्रै महाधिवेशन गरेको छ, दुवै महाधिवेशनमा टिका प्रथाबाटै नेतृत्व चयन गरेको पाइन्छ ।

माओवादी केन्द्रका पुराना नेताहरु ‘जनवादी केन्द्रीयताको अभ्यास’अनुसार नै नेतृत्व चयन गरिएको सगर्व बताउने गरेका छन् ।

‘वडा तहदेखि नै चुनिने सिस्टम बनाउँछौं’

माओवादी पार्टी कमजोर बन्नुको मुख्य कारण– जनता र कार्यकर्तासँग टाढिएको सम्बन्ध हो । जसलाई माओवादीका सबै नेताहरु स्वीकार गर्दछन् । तर, जनता र कार्यकर्तासँग टाढिएको सम्बन्धको कारणबारे भने चर्चा गर्न चाहँदैनन् ।

युवाहरुको बीचमा लोकप्रिय नेता लेखनाथ दाहाल ‘राजन’ जनता र कार्यकर्तासँग चिनजान नै नभएका पात्र नेतृत्व तहमा पुग्दा पार्टी कमजोर भएको बताउँछन् । उनका अनुसार पार्टी नेतृत्वमा त्यस्तै पात्रको ठूलो हिस्सा छ । “न जनताले चिन्छ, न कार्यकर्ताले चिन्छ, त्यस्ता पात्र नेताको रुपमा छन्”, उनले भनेका छन्, “जनता र कार्यकर्तासँग सम्बन्ध नै नभएका त्यस्ता पात्रले कसरी पार्टीलाई स्थापित गर्न सक्छ, कसरी अगाडि बढाउन सक्छ, माओवादीभित्रको समस्या अहिले यही हो ।”

नेता दाहाल जनता र कार्यकर्तासँग सम्बन्ध नभएका नेताहरुलाई पार्टी नेतृत्वबाट विस्थापित गर्ने अभियान माओवादीभित्र सुरु भइसकेको बताए । “अब माओवादीभित्र कुनैले टिका लगाएका नेता हुँदैनन्, वडा तहदेखि नै केन्द्रसम्म प्रत्येक नेता चुनिने सिस्टम हुनेछ”, उनले भनेका छन्, “जसको लागि पार्टीभित्र संघर्षको सुरुवात भइसकेको छ ।”

आगामी विधान महाधिवेशनले आम समस्याहरु सुल्झाउने उनको भनाई छ । उनले भनेका छन्, “विधान महाधिवेशनको माग यत्तिकै गरिएको होइन, आठौं महाधिवेशन पूर्णं भएन, जसरी हुनुपथ्र्यो त्यसरी भएन, अब यसको निकास विधान महाधिवेशनबाटै हुन्छ, कार्यकालको अवधि, दोहोरो जिम्मेवारीलगायतका विषय पनि त्यहीँबाट टुंग्गीन्छन् ।”

‘पार्टी जोगाउन पनि आन्तरिक पद्धति परिवर्तन अनिवार्य’

पार्टी जोगाउनकै निम्ति पनि माओवादीभित्र नेतृत्व चयनको प्रक्रियामा आमूल परिवर्तन अनिवार्य रहेको राजनीतिक विश्लेषक हरि रोकाको विश्लेषण छ । यदि हालकै कार्यशैलीले चलेमा माओवादी पार्टी केही वर्षमै सकिने स्थितिमै पुग्ने उनले बताए । लोकतान्त्रिक पद्धतिमा पार्टीभित्रको लोकतन्त्र पनि सुद्धढ हुनु अनिवार्य रहेको उनको भनाई छ ।

“माओवादी युद्धमा छैन, शान्तिपूर्णं अभ्यासमा भइरहँदा आन्तरिक पद्धतिमा पनि आमूल परिवर्तन अनिवार्य हुन्छ”, उनले भनेका छन्, “यदि यही शैलीमा अगाडि बढे माओवादी पार्टी नै रहँदैन । जुन पक्कै प्रचण्डले पनि बुझेका छन् ।”

कतिपयले स्वयम् पार्टी अध्यक्ष प्रचण्ड नै तयार नरहने टिप्पणी गरिरहँदा विश्लेषक रोका अवस्था बाध्यात्मक भइसकेको बताउँछन् । “न पार्टीभित्र सांगठनिक व्यवस्थापन गतिलो छ, न नयाँ लिडर तयार भएको छ, यस्तो अवस्थामा प्रचण्ड मात्रै एक्लै लागेर त केही हुँदैन”, उनले भने, “यसको निम्ति पनि प्रचण्ड तयार होलान् भन्ने लाग्छ ।”

प्रचण्डको प्रतिकुलमा पार्टी नरहेको कारण पनि पार्टीभित्रको पद्धति परिवर्तन गर्न गाह्रो नरहेको उनले बताए । “माओवादीभित्र जेसुकै पद्धति अपनाए पनि अहिलेसम्ममा प्रचण्ड सर्वसम्मत नेता हुन्, दोस्रो तथा तेस्रो पंक्तिमा समस्या हो, यसकारण पनि प्रचण्ड तयार हुन्छन् ।”


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक