back
CTIZAN AD

धानको बीउ नपाएपछि रनभुल्ल परे किसान

वि.सं.२०८० साउन २८ आइतवार

1.1K 

shares

महोत्तरी । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र जनशक्ति नपाउँदा किसान छटपटिएका छन् ।

“एक साता पहिले पर्न थालेको पानीले खेत डम्म भरिएका छन्, अब धान रोप्नुबाहेक अर्को विकल्प छैन, तर न बीउ छ, न काम गर्ने मानिस नै भेटिन्छन्”, भङ्गाहा–४ थारुटोल बनराका ७० वर्षीय किसान रामऔतार सिंह थारुले भने ।

यसपालिको खडेरी लामो समयसम्म हुँदा बीउ ब्याडमै सुकेर रोप्न नपाएपछि खरुअन (बीउ रोप गरेर गाँजिएको रोपो फेरि उखेलेर रोपिने बीउ, धानको कलम) को हाहाकार छ । साउन अन्तिम साता स्थानीय जातको धानको खरुअन पाइए अझै रोपाइँ गर्न सकिने भए पनि त्यो नभेटाउँदा किसान अहिले रनभुल्ल परेका छन् ।

महोत्तरीसहितका मधेसका जिल्लामा ढिलै भए पनि भदौ पहिलो सातासम्म स्थानीय जातका धानको खरुअन रोप्न पाए धेरथोर उत्पादन लिन सकिनेमा किसान आशावादी छन् ।

“लोकल (स्थानीय) जातको धानको खरुअन पानी प्रशस्त भए भदौ पहिलो सातासम्म पनि रोपेर फलाएका छौँ”, पुराना कुरा सम्झदै भङ्गाहा–४ कै पलार बस्तीका ८० वर्षीय किसान चांैठी बाँतर भन्छन् , “यसपाली त न खरुअन छ, न काम गर्ने मानिस नै छन् , खेतको पानी त्यत्तिकै खेर जान्छ कि जस्तो लागेको छ ।”

साउन चौथो सातामा धान रोपाइँ ढिलो हुने भए पनि अब खेतमा भरिएको पानीले अर्को बाली लगाउन नदिएपछि किसान खरुअनको खोजमा लागेका छन् । “नजिक हुँदो खरुअन पाइएको छैन, टाढाबाट खरुअन किनेर ल्याइँदा ओसार्न खर्च बढ्ने पीर छ”, बर्दिबास–७ मनहरिपुरका ३० वर्षीय युवा किसान नीरबहादुर खत्री भन्छन.् , “नजिकका खेतीपातीमा काम गर्ने मानिस धेरैजसो भारतको पञ्जाव तिर गएपछि मान्छे पाउनै मस्ुिकल परेको छ ।”

मधेसमा सामान्यतया मध्य जेठभित्र ब्याड तयार गरेर बीउ राख्ने, मध्यअसारभित्र बीउको रोप सक्ने र मध्य साउनभित्र खरुअन रोपिने चलन छ । समयमै धान रोप्न नपाएपछि अब सुख्खाबाली लगाउने तयारीका बेला मुसलधार पानी परेर खेत डम्म भरिएपछि किसान बिलखबन्द परेका हुन् । असारभरि खडेरीले बीउ रोप्न नपाएपछि अहिले खरुअनको अभाव भएको छ ।

गाउँघरमा खरुअन सामान्यतया दुई मनको कठ्ठा (खरुअन किनेबापत मङ्सिरमा प्रतिकठ्ठा दुई मन धान दिइने चलन) पुरानो चलन भए पनि अब त्यसरी पाउन मुस्किल छ । नजिक नपाइँदा खोज्न टाढाटाढा पुग्न परेको किसान बताउँछन् । खरुअन नगदानगदी लिनुपर्दा पैसाको जोहोमा पनि सकस परेको किसानको गुनासो छ ।

अहिले यहाँका किसान खरुअनको खोजीमा धनुषा, सर्लाहीसहितका जिल्लामा कुलो÷नहर लाग्ने क्षेत्रमा रोपिएको धानको खरुअन खोज्न भौतारिएका छन् । लामो खडेरीले धान रोप्न नपाएपछि अब खनजोत गरेर अन्य बाली लगाउने तरखर गरेका बेला साउन अन्तिम साता खेतबारी जलाम्य भएपछि धानै रोप्न पर्ने किसानलाई बाध्यता छ ।

तर अब राखेको बीउले नहुने र खरुअन हतपत नभेटिएपछि छटपटी बढेको भङ्गाहा–५ भूचक्रपुरका ६५ वर्षीय किसान दीपनारायण चौधरी थारु बताउँछन् । ढिलो गरी भएको वर्षाले थुप्रै किसान अहिले रनभुल्लिएका छन् ।

बर्सेनिजसो दुई बिघा क्षेत्रफलमा धान लगाउँदै आउनु भएका भङ्गाहा–४ रामनगरका किसान हरिदेव साह यसपाली धानको गब (हिल्याइएको खेतमा रोपिने धानको बीउ) नै नलगाइएको बताउँछन् । लामो खडेरीले बीउ सुकेपछि अब तरकारी, तिल र अन्य सुख्खाबाली लगाउने सोचिएका बेला पछिल्लो वर्षाले त्यो पनि नदिएको साहको बेचैनी छ ।

“धान रोप्न पाइएन, अरु बाली लाउने आश पनि म¥यो”, पछिल्लो वर्षाले जलाम्य खेत देखाउँदै साहले भने, “अब पानी नथपिँदा पनि खेतबारी जोतखन गर्ने गरी रुखिन धेरै दिन पर्खनपर्छ ।” खेतीपाती सबै आकासे पानीको भरमा गर्नुपर्दा आफूहरुका खेती योजना सफलिभूत नभएका साह बताउँछन् । गत साताको आइतबार पर्न थालेको पानी त्यसयता दिनहुँजसो थपिँदै जाँदा जिल्लाका अधिकांश भेग जलाम्य छन् ।

जिल्लामा करिब ७१ हजार हेक्टर खेतीयोग्य जग्गा रहेमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि उपयुक्त मानिदै आइएको छ । तर आकासे पानीकै भरमा गरिनुपर्ने खेतीमा पानीको तुक (ठीक समय) नमिल्दा जिल्लामा विगत वर्षमा पनि ४५ हजार हेक्टरको सेरोफेरोमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालय जलेश्वरको तथ्याङ्क छ । कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा कुलो÷नहर पुगेको छ । यी कुलो÷नहरका पानीका स्रोत नदी, खोल्साखोल्सीका मुहान पनि यसपाली लामो खडेरीले सुकेपछि राम्ररी पानी नचल्दा अपेक्षित धान रोपाइँ हुन नसकेको किसान बताउँछन् ।

“हेर्दा त बाँध, कुलो, नहर देखिन्छ नि, तर नदीको मूहान नै सुकेपछि असारमै पानी चल्न छाड्यो” , कुलो÷नहरको सिञ्चित क्षेत्र मानिने भङ्गाहा–८ धर्मपुरका ६० वर्षीय किसान रामसागर राउत भन्छन्, “कसैगरी दुःखजिलो रोपिएको धान पनि पछिको खडेरीले खायो ।” बीउको रोपो खडेरीले गाँजिन नपाएपछि अहिले खरुअनको अभाव भएको राउत बाताउँछन् ।

अहिलेको वर्षा उही पहिलेको रोपो जोगाउन मात्र काम लागेको राउतसहितका धर्मपुरका किसान बताउँछन् । “बीउ रोप राम्ररी गाँजिएको भए अहिलेको पानीमा अलि ढिलै भए पनि खरुअन लगाइन्थ्यो, तर लामो खडेरीले रोपो नगाँजिएपछि अब थप रोपाइँ चल्ने आश रहेन” राउतकै छिमेकी उपेन्द्र चौधरी थारु भन्छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीयतहमध्ये धान रोपाइँ हुनै नसकेका पाँचमाथि छन् ।

त्यस्तै केहीमा १०÷२० प्रतिशत र एक÷दुई स्थानीय तहमा ४० प्रतिशतसम्म धान रोपाइँ भएको तथ्याङ्क कृषि ज्ञान केन्द्र महोत्तरीको अभिलेखमा छ । पछिल्लो वर्षामा मरिहत्ते गरेर किसान धान रोपाइँमा लागे पनि पनि बीउ र जनशक्तिको अभावले अझै रोपाइँ ५० प्रतिशत नपुगेको कार्यालयका विज्ञको भनाइ छ ।

“सबैभन्दा दुःखको कर्म हामी किसानकै रहेछ”, बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतो भन्छन् , “न दुःख देख्ने कोही छन्, न भरथेग गर्ने !” समय प्रतिकूल भएर बालीनालीमा असर पर्ने भएपछि लालाबालाको गुजाराको चिन्ताले गलाउने गरेको महतो बताउँछन् ।

 

वि.सं.२०८० साउन २८ आइतवार १५:२४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...