back

महरामाथि छानबिन गर्न किन आनाकानी ?

वि.सं.२०८० साउन २९ सोमवार

867 

shares
NTC AD

पूर्वसभामुख कृष्णबहादुर महरा पुत्र राहुल महराले सोमबार एक फेसबुक स्टाटस लेख्दै आफू र आफ्नो परिवारविरुद्ध लेखिएका समाचारहरु आपत्तिजनक भएको भन्दै विरोध जनाए । उनले सञ्चार माध्यममार्फत आफ्नो चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोजिएको समेत आरोप लगाए । महराले सञ्चार माध्यम आफैं न्यायालय बन्न खोजेको पनि आरोप लगाएका छन् । तथापी, महराले सुन प्रकरणमा पक्राउ परेका चिनियाँ व्यापारी लुई हान्चोङसँग सम्पर्क भएको र सम्बन्ध भएको भने स्वीकार गरेका छन् ।

“हामीले यसअघि नै विषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुँदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखि भ्रमित पार्नु गलत हो”, उनले सामाजिक सञ्जालमा लेखेका छन्, “राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्णरुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका छौं र प्रमाणित देखिए कानुनबमोजिम भागिदार हुनेछौं ।”

सीआईबीले पनि सुन तस्करी काण्डका आरोपितसँग कृष्णबहादुर महरासँग २२ पल्ट र उनका छोरा राहुल महरासँग २३४ पल्ट फोन संवाद भएको तथ्य भेटाएको छ । सीआईबीले सरकारी वकिलको कार्यालयलाई उक्त तथ्य समेटिएको प्रतिवेदन बुझाएको छ । भेटिटएका तथ्यहरुअनुसार महरा परिवारलाई तत्कालै अनुसन्धानको दायरामा तानिनु पर्ने देखिन्छ । तर, हालसम्म पनि उक्त सन्दर्भमा सरकारबाट कुनै एक्सन भएको छैन ।

सुन काण्डको विषयलाई लिएर साउन १० देखि संसद बैठक अवरुद्ध छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सुनकाण्डमाथि छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरिरहेको छ । पछिल्लो समय सत्तारुढ दलहरुभित्रैबाट पनि उक्त विषयमा माग उठ्न थालेको देखिन्छ ।

सरकारले योबीचमा नक्कली शरणार्थी प्रकरणदेखि सुन प्रकरणसम्मको फाइललाई अगाडि बढाएको छ । सरकारले सबै फाइल खोलेको छ तर, सबैमा पूर्णरुपमा कारबाही अगाडि बढाएको देखिन्न । जसलाई हेर्दा स्पष्ट हुन सकिन्छ, सरकार पूर्णरुपमा देखिएका काण्डहरुलाई टुंग्याउने पक्षमा छैन । पछिल्लो सुन काण्डमा जे–जसरी नाम आए, उनीहरुमाथि कारबाही गर्नतर्फ सरकारले त्यति तदारुकता देखाएको छैन । सरकारकै भूमिकाले सतहमा भरिया समातेर काण्डलाई थामथुम पार्ने प्रयास भएको त होइन ? भन्ने प्रश्न उब्जेको छ ।

सरकारले जसरी विभिन्न प्रकरणका फाइल खोलिरहेको छ र कारबाही प्रक्रिया अगाडि बढाएको छ, त्यसले नागरिकमा बेग्लै आशाको सञ्चार गराएको थियो । यस्तोमा निश्चित पात्रको नाम मुछिदैमा छानबिन प्रक्रिया नै रोक्ने विषय सही होइन । जसले सरकारमाथि नै भरोशा गल्न थालेको आभास हुन्छ ।

यदि सरकारले तत्कालै सुन काण्डमा मुछिएका पात्र कृष्णबहादुर महरा र उनका छोरालाई पक्राउ गरी छानबिन थाल्ने हो भने संसदमा एमालेले राखेको माग पनि अर्थहिन हुने देखिन्छ । साथै, सरकारले अन्य सत्ता साझेदार र प्रतिपक्षी दलका विवादित नेताहरुमाथि पनि छानबिन प्रक्रिया अगाडि बढाउन सहज हुनेछ । माओवादी अध्यक्षको समेत जिम्मेवारी रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे ठोस कदम चालुन् ! आफ्ना भनिएका महरालाई जोगाउन खोज्दा अरु समस्या समस्या नथपियोस् !

वि.सं.२०८० साउन २९ सोमवार १५:३६ मा प्रकाशित

ADBL AD