काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल कोशी,मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।
त्यस्तै, आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०८० भदौ १० आइतवार ०८:२५ मा प्रकाशित






























