१० वैशाख । आज दुई ठाउँमा भएको दुर्घटनामा ७ जनाको ज्यान गएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका–३ भलायवासमा आज टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन आउँदै गरेको लु १ ख ९०३१ नं को टिपर दुर्घटना हुँदा टिपर चालक तिनाउ गाउँपालिका–६ का २७ वर्षीय पुरन सारु, उहाँका श्रीमती २४ वर्षीया बालकुमारी, पाँच वर्र्षीय छोरा हेमेस र सोही स्थानका २२ वर्षीय बिमल कनौजेकोे घटनास्थलमै मृत्यु भएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो । टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
………………………….
त्यसैगरी बाजुरा मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको से १ ज ६३९ नं को जिप आज दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गौमुल गाउँपालिका–६ का लाली रोकाया र वडा नं ४ मानोकोटका १६ वर्षीय रकेट रोकाया र सोही वडाका ५९ वर्षीय गङ्गबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो ।
वि.सं.२०७४ वैशाख १० आइतवार १५:०९ मा प्रकाशित






























