
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ । शनिबार चीन पुगेका प्रधानमन्त्री ‘प्रचण्ड’ले हाङ्जाओमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन् ।
एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ शनिबार हाहाङ्जाओ पुगेका छन् । ‘प्रचण्ड’लाई हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकामा संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै चीन पुगेका हुन् । एसियन गेम्सको उद्घाटनपछि प्रधानमन्त्री ‘प्रचण्ड’ चीनको राजधानी सहर बेइजिङ जाने कार्यक्रम छ ।
बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ आफ्नो राजकिय भ्रमण पुरा गरी यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।
वि.सं.२०८० असोज ६ शनिवार १६:१० मा प्रकाशित