काठमाडौँ । नेपाली कांग्रेसले इजरायल र हमासबीचको आक्रमणमा परी घाइते भएका नेपालीहरुको उपचार खर्च सरकारले ब्यहोर्नुपर्ने माग गरेको छ ।
आज बसेको कांग्रेस संसदीय दलको बैठकले आक्रमणमा परी घाइते भएका दाङका प्रविन डाँगी, सल्यानका विधान सेजुवाल र गोरखाका हिमाञ्चल कट्टेलको सरकारको खर्चमा तत्काल उपचार गर्नका लागि माग गरेको हो । सोहि बैठकले १० नेपाली विद्यार्थीको ज्यान जाने गरी हमासले गरेको आक्रमणको भत्र्सना समेत गरेको छ ।
त्यसैगरी कांग्रेसले मृतकहरुको शव यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउन माग गर्दै स्वदेश फर्कन चाहने नेपालीलाई अविलम्ब फर्काउन समेत सरकारसँग माग गरेको हो । साथै सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको तत्काल खोजी गरी उद्धारको माग समेत गरेको छ ।
त्यस्तै इजरायलमा रहेका नेपालीहरुको तथ्यांक संकलन गरी जोखिममा परेकाहरुको सकुशल उद्धार गर्न र सुरक्षित स्थानमा राखेर आवास तथा भोजनको व्यवस्था मिलाउन समेत कांग्रेसले माग गरेको छ ।
वि.सं.२०८० असोज २३ मंगलवार १६:०३ मा प्रकाशित






























