
काठमाडौं । नेपालले फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोट यात्रा आज सुरु गर्दैछ । फिफा विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताअन्तर्गत आज लाओससँग भिड्दै नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप एसिया क्षेत्र छनोट यात्रा सुरु गर्ने भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा लाओससँग नेपालले प्रतिस्पर्धा गर्दै छ । फिफा वरीयतामा नेपाल १७५औँ स्थानमा छ भने प्रतिस्पर्धी लाओस १८६औँ स्थानमा छ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले दुई महिनादेखि प्रशिक्षण गरिरहेकाले नेपालको तयारी राम्रो रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘हामी त्रिकोणात्मक सिरिजभन्दा राम्रो खेल प्रस्तुत गर्नेछौँ।’
नेपालले गत चैतमा घरेलु मैदानमा भुटान र लाओससम्मिलित त्रिकोणात्मक सिरज खेलेको थियो । जसमा नेपालले लाओसलाई समूह चरणमा २-० ले हराएको थियो भने फाइनलमा २-१ को जित हासिल गरेको थियो ।
एसिया क्षेत्र छनोटअन्तर्गत पहिलो लेगमा नेपालले घरेलु मैदानमा खेल्न लागेको हो । यसपछि अर्काे खेलका लागि भने नेपाली टोली लाओस प्रस्थान गर्नेछ ।
दोस्रो लिग असोज ३० गते लाओसको घरेलु मैदानमा हुनेछ ।
फाइल फोटो
वि.सं.२०८० असोज २५ बिहीवार ११:१९ मा प्रकाशित