
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले आगामी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । क्रिकेटर सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका हुन् ।
गएराति सामाजिक सञ्जालमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरूबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’ लामिछानेले लेखेका छन्, ‘म यतिबेला मेरो जीवनकै कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिहरेको छु ।’
उनले आफूलाई पुनर्जीवन दिन र परिवारलाई समय दिन यस्तो निर्णय गरेको बताएका छन् । ‘अहिलेसम्म पाएका सबै आशिर्वाद र शुभकामनाहरूका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु। सबैलाई धन्यवाद,’ उनले लेखेका छन् ।
नेपालले कार्तिक १ गतेदेखि घरेलु मैदानमा युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी २० सिरिज खेल्दैछ ।
आगामी टी २० विश्वकपको तयारी स्वरुप नेपालले त्रिकोणात्मक सिरिज खेल्न लागेको हो। सिरिज लगत्तै नेपालले घरेलु मैदानमा नै आइसिसी विश्वकप टी २० छनोट खेल्नेछ ।
यी सिजिलाईका लागि सन्दीपलाई समेट्दै अन्तिम टोलीको घोषणा भैसकेको छ ।
यसअघि उनले चीनको हाङजाओमा भएको १९ औं एसियाली खेलकुदमा भाग लिएका थिए ।
वि.सं.२०८० असोज २६ शुक्रवार ०८:२१ मा प्रकाशित