मनाङ । हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका-९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिए ।
‘विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै हिमपात सुरु भएको छ,’ अध्यक्ष गुरुङले भने। तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा हिमपात भएको हो ।
हिमपात हुन सुरु भएपछि स्थनीयवासीमा खुसियाली छाएको छ । समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन् ।
स्थानीय याङदुङ गुरुङले सयममा हिमपात हुँदा किसानमा खुसी छाएको बताए । ‘हिमपात नहुँदा पानीको अभावले उत्पादन कम हुन्छ, यहाँ हिउँकै भरमा खेतीपाती हुने भएकाले यो हिमपातले किसानलाई फाइदा हुन्छ,’ उनले भने ।
हिमपात भएपछि याक, चौँरीलाई घाँस पनि राम्रोसँग पलाउने गुरुङले बताए । ‘हिमपातको सुरुआत भएकाले मङ्सिरको पहिलो सातादेखि खर्कबाट याक, चौँरी बेसी झार्ने बेला भएको छ,’ उनले भने, ‘हिमाली जिल्लाका मानिस त हिमपात भएपछि खुसी हुन्छन् ।’
गत वर्ष हिमपात नहुँदा खेतीबालीलाई पानीको अभाव भएको थियो । यस वर्ष समयमा नै हिमपातको सुरुआत हुँदा उत्पादन बढ्ने अपेक्षा गरिएको छ । समयमा नै हिमपात भएपछि जमिनको तल्लो सतहसम्म पानीले भिज्ने र उत्पादन राम्रो हुने गुरुङले बताए ।
‘पहिले पहिलेको तुलनामा अहिले हिमपात कम हुने गरेको छ, तर पनि समयमा परिदिए राम्रो हुने थियो, यस वर्ष उत्पादन राम्रो हुने आशा लिएका छौँ,’ उनले भने । यहाँ स्याउ, करु, जौ, फापर, आलुलगायतका बाली हिमपातको कारण सप्रिने गर्छ ।
रासस /फाइल फोटो
वि.सं.२०८० कात्तिक १ बुधवार ०७:०७ मा प्रकाशित






























