काठमाडौं । मुस्ताङको कोरला नाका आज (कात्तिक २७ गते) बाट सञ्चालनमा आउँदैछ ।
आज बिहान १० बजे नेपाल र चिनियाँ अधिकारीले एक समारोहका बीच नाका सञ्चालनमा आएको औपाचारिक घोषणा गर्ने तयारी भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टासी नर्बु गुरुङले जानकारी दिए ।
खम्पा विद्रोहका कारण आवतजावतमा कडाइ गरिएको कोरला नाका कोरोना संक्रमणको बेला चार वर्षअघि चीनले बन्द गरेको थियो। विगत केही समयदेखि सरकारले कोरला नाका सञ्चालनको लागि चीनसँग कुटनीतिक पहल गर्दै आएको थियो । नाका सञ्चालनमा आउने भएपछि स्थानीयबासी खुशी भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको असोजमा गरेको चीन भ्रमणका क्रममा चीनले कोरलासहित १४ वटा नेपाल ( चीन सिमा नाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।
नाका सञ्चालनमा आउने भएपछि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै एक हजार सर्वसाधारणलाई ‘नेपाल चीन प्रवेश अनुमतिपत्र’ वितरण गरिएको मुस्ताङ प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
प्रवेश पास भएका नागरिकले अब जुनसुकै समयमा पनि चीन आवत जावतको सुविधा पाउनेछन् ।
सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पा नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।
वि.सं.२०८० कात्तिक २७ सोमवार ०७:०० मा प्रकाशित






























