back
CTIZAN AD

पाँच युवा मिलेर खालेका एउटै फार्मबाट तीन करोडको भन्दा बढीको केरा बिक्री

वि.सं.२०८० कात्तिक २९ बुधवार

1.1K 

shares

झापा । विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ । भद्रपुर नगरपालिका–५ मा २० बिघा र गौरादह–५ मा ५७ बिघा जग्गा भाडामा लिएर वासुदेव उप्रेती, कमल थापा, प्रेम खड्का, प्रकाश निरौला र दारोगा जैसवालले ‘श्रीगणपति एग्रिकल्चर प्रालि’मार्फत केराखेती गरेका हुन् । दुवै ठाउँमा रोपिएका केराका बोट लहलह भएर फस्टाएका छन् ।

भद्रपुरको खेतबाट एउटा यामको उत्पादन चाडबाडकै अवसरमा बजारमा पुगिसकेको छ भने गौरादहको उत्पादन चाँडै बजार लैजाने तयारी भइरहेको कम्पनीका अध्यक्ष वासुदेव उप्रेतीले जानकारी दिए । उनका अनुसार भद्रपुरको केराखेतीमा दसैँ र तिहारको समयमा २८ हजार घरी केरा पाकेको थियो । ती सबै काठमाडौँ, वीरगञ्ज, चितवन र पोखराको बजारमा बिक्री भइसकेको छ । बजारमा प्रतिघरी केरा औसत रु एक हजार दुई सयमा बिक्री भएको छ । फार्ममा फलेका सबै केरा कम्पनी आफैँले बजारमा पुर्याएर बिक्री गरेको हो ।

भद्रपुरको फार्मबाट मात्र रु तीन करोड ३६ लाखको पाकेको केरा बिक्री भएको अध्यक्ष उप्रेतीको भनाइ छ । “उत्पादन सुरु भएको पहिलो वर्षमै भद्रपुरको खेती नाफामा गयो”, खेतीबाट उत्साहित अध्यक्ष उप्रेती भन्छन् , “अर्को यामदेखि अझ धेरै नाफा पाउने आशा जागेको छ । पहिलो यामको केरा बजारीकरण गर्न समस्या भयो । आउँदो याममा बढीभन्दा बढी फाइदा लिने कम्पनीको योजना छ ।”

भद्रपुर–५ मा रहेको केराफार्मको जग्गा जिल्लाकै पुरानो भद्रपुर गौशालाको स्वामित्वमा छ । उक्त जग्गा वार्षिक रु पाँच लाख भाडा तिर्ने सम्झौतामा लिइएको हो भने गौरादहमा धेरै व्यक्तिको निजी जग्गा एकमुष्टरूपमा वार्षिक रु १० लाख भाडा तिर्ने शर्तमा कम्पनीले लिएको हो । अध्यक्ष उप्रेतीका अनुसार भद्रपुरको फार्ममा ३० हजार र गौरादहमा ८० हजार केराका बोट हुर्किएका छन् । ‘जी नाइन’ नामक उन्नत जातको केराको बिरुवा टिस्युकल्चर प्रविधिबाट नर्सरीमा उमारिएका हुन् । प्रतिबिरुवा रु ३५ मा खरिद गरिएको उनले बताए ।

वीरगञ्ज, खुदुनाबारी र गौरीगञ्जमा टिस्युकल्चर प्रविधिबाट केराको बिरुवा उमार्ने नर्सरी रहेका छन् । कम्पनीले तिनै नर्सरीबाट बिरुवा किनेको हो । एकपटक हुर्काएको बिरुवाले पाँच वर्षसम्म नयाँ बिरुवा उमारेर निरन्तर उत्पादन दिइरहन्छ । गौरादहको फार्ममा हाल केरा पाक्न थालेका छन् । उन्नत जातको यो केरा नौ महिनामा पसाउन थाल्छ भने एक वर्षभित्रै पाक्छ ।

ठूला घरी र पोटिला कोसा धेरै हुने भएकाले यसले सजिलै बजार पाउने गरेको अर्का सञ्चालक कमल थापाको भनाइ छ । केराखेतीमा लागेका युवामध्ये जैसवाल बिर्तामोडको कृषि थोक बजारका ४० वर्षदेखिका अनुभवी व्यापारी छन् । उनलाई बजारीकरणको राम्रो ज्ञान छ । पहिलो खेती भएकाले कतिपय कठिनाइ भने झेल्नु परिरहेको थापाले बताए ।

ठूलो लगानीमा केराखेती गरे पनि श्रीगणपति एग्रिकल्चर प्रालिले हालसम्म सरकारी अनुदान र प्रोत्साहन पाउन सकेको छैन । “कुलिङ च्याम्बर नहुँदा पहिलो याममा पाकेको केरा बजारमा बिक्री भइनसक्दै बिग्रिएर नष्ट हुने समस्या झेल्नुपर्यो”, थापाले खेतीको अनुभव सुनाउँदै भने– “पाकिसकेका केराका घरीलाई टिकाउन कुलिङ च्याम्बर चाहिएको छ ।”

झापाको उत्पादनलाई काठमाडौँको बजारसम्म पुर्याउन तीन दिनसम्म लाग्ने र ढुवानीमा प्रतिगाडी रु ५० हजारसम्म भाडा लाग्ने भएकाले ढुवानीको गाडी पनि आवश्यक परेको अर्का सञ्चालक प्रकाश निरौला बताउँछन् । सरकारले लागत सहभागितामा कुलिङ च्याम्बर र ढुवानीको गाडी खरिदमा अनुदान दिए व्यवसायमा मद्दत पुग्ने उनकोे भनाइ छ ।

भारतीय बजारबाट सस्तो दाममा भित्रिने केराले स्वदेशी उत्पादनलाई बजारमा ठूलो चुनौती खडा गरेको कृषकहरूको अनुभव छ । भारतीय केराको आयात रोकिदिने हो भने स्थानीय उत्पादनले बजार पाउने उनीहरू बताउँछन् । स्वदेशमै रोजगारी सिर्जना गर्ने र कृषिमा प्रोत्साहन गर्ने सरकारको कार्यक्रम भए पनि वास्तविक किसानले मल, बीउ, सिँचाइ, उपकरण र बजारीकरणमा अनुदान पाउन नसक्नु दुःखलाग्दो विडम्बना भएको सञ्चालक निरौला बताउछन् ।

चालीस वर्षदेखि विर्तामोडमा व्यापार गर्दै आएका दारोगा जैसवाल भारतबाट कृषि प्राविधिक ल्याएर केराखेतीमा लगाउनुपरेको बताउँछन् । सरकारले सिँचाइका लागि पाइप र रासायनिक मलखाद बेलैमा चाहिए जति अनुदानमा पाउने हो भने नेपाली युवाले रोजगारी खोज्दै खाडी मुलुक गइरहनु नपर्ने उनकोे भनाइ छ ।

भद्रपुर गौशालाका एक सयभन्दा बढी गाईवस्तु पालिएको हुँदा त्यहीको गोबर खरिद गरेर मलखादको समस्या केही हदमा टरेको भए पनि रासायनिक मलको सधैँ अभाव रहने जैसवालले जानकारी दिए । “कृषि, कृषि भनेर सरकारले चर्को स्वरमा भनेको भन्यै गरेको सुनिन्छ, यहाँ हामीले केही पाएकै छैन”, उनी भन्छन्, “हामीलाई कृषि उपकरण, ट्रयाक्टर, ढुवानी गर्न गाडी, सिँचाइका लागि पाइपलगायत सामग्री चाहिएको छ ।”रासस

 

वि.सं.२०८० कात्तिक २९ बुधवार ०९:२५ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...