काठमाडौँ । नेकपा एमालेले आजदेखि मध्य पहाडी लोकमार्ग हुँदै मेची महाकाली पदयात्रा सुरु गर्दैछ ।
आज ( बिहीबार ) बिहान बैतडीको झुलाघाटमा एक समारोहकाबीच एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गर्दै छन् । त्यसका लागि अध्यक्ष ओली बुधबारै बैतडी पुगेका छन् ।
‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्गको यात्रा सुरु गर्न लागेको हो ।
गएराति बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओलीले आज बिहान नौ बजे पदयात्राको उद्घाटन गर्ने तयारी छ । नेपालको पश्चिमी बिन्दु झुलाघाटमा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेर ओलीसहितको टोली पूर्वतर्फ लाग्ने छ ।
झुलाघाटदेखि सुरु हुने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गको यात्रा पूरा गरेर पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुंगिने एमालेले जनाएको छ ।
यात्राका क्रममा एमालेले ठाउँठाउँमा आमसभाको आयोजना गर्ने एमालेले जनाएको छ ।
वि.सं.२०८० मंसिर १४ बिहीवार ०७:२७ मा प्रकाशित





























